काठमाण्डु – इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणले मध्यपूर्वका देशमा तनाब बढिरहेको बेला एक नेपाली इरानी सेनाको कब्जामा परेका छन् ।
धनुषाका ३० वर्षीयअमृत झा इरानी सेनाको कब्जामा परेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज जलमार्गबाट नियन्त्रणमा लिएको एक व्यापारिक जहाजमा झा क्रु मेम्बर थिए । उनी जहाजसँगै कब्जामा परेका हुन् ।
इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा उनलाई इरानी सेनाले नियन्त्रण लिएको खड्काले बताए ।
‘इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत झालाई पनि पक्राउ गरेको हो’, खड्काले भने । झालाई नेपाल फर्काउन कूटनीतिक पहल सुरु गरिएको पनि उनले बताए ।
उक्त जहाजमा कार्यरत सबै ‘क्रू मेम्बर’लाई इरानी पक्षले नियन्त्रणमा लिएको छ, जसमा झा पनि सामेल छन्।
होर्मुज जल क्षेत्र पश्चिम एसियाली युद्धको केन्द्रबिन्दु बनेको छ । विश्वको झन्डै २० प्रतिशत तेलको हिस्सा हर्मुजको जलघाटी हुँदै बाहिरिन्छ । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला गरेपछि इरानले पनि आफ्नो नियन्त्रणमा रहेको हर्मुज जलघाटी हुँदै पार हुने तेल बोकेका पानी जहाजलाई लक्षित गर्दै प्रत्याक्रमण गर्दै आएको छ ।
उनी दुई वर्षअघि मात्र कामको सिलसिलामा दुबई गएका थिए । उनी त्यहाँस्थित ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा पानी जहाजमा काम गर्दै आएका थिए । उनी पानी जहाज चालक दलका सदस्य रहेको पुष्टि भएको छ ।
पक्राउ परेका झाको औपचारिक जानकारी इरानले दिएको छैन । तर कतारस्थित नेपाली दूतावासले यसबारेमा इरानसँग थप जानकारी लिने प्रयास गरिरहेको छ ।
अमृतकी दिदी पूजा झाका अनुसार उनी इरानी सेनाको नियन्त्रणमा रहेको भ्वाइस म्यासेज केही दिनअघि ह्वाट्सएपमा आएको थियो ।
‘आठ दिनअघि एउटा नचिनिएको नम्बरबाट ह्वाट्सएपमा भ्वाइस म्यासेज आएको थियो र म्यासेजमा भाइले इरानी सेनाले कस्टडीमा लिएको छ, अरू भारतीय पनि पक्राउ परेका छन् भनेको थियो’ पूजाले भनिन् ।
उनका अनुसार भाइ पक्राउ परेको जानकारी पाएपछि उसको खोजी गरिदिन कन्सुलर विभागमा निवेदन परिवारले दिएको छ ।




प्रतिक्रिया