कटहरिया नगरपालिकाका कर्मचारी पुन: आन्दोलित

कटहरिया नगरपालिकाका कर्मचारी पुन: आन्दोलित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरू पुन: आन्दोलित भएका छन् ।

नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएको भन्दै बुधबारदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।

दिपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भए पनि रकम अझै नआएकाले आन्दोलित हुनुपरेको उनीहरूको भनाइ छ । नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मूल कार्यालयमा तालाबन्दी गरिएको कटहरिया नगरपालिका वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवले बताए ।

उनका अनुसार छठ पर्वअघि नै तलबभत्ता दिने आश्वासन पाएपनि अहिलेसम्म नपाएको हो । ‘लामो समयदेखि नगर सेवामा समर्पित छौं,’  उनले भने, ‘तर समयमा तलबभत्ता नपाउँदा अहिले दैनिक जीवन प्रभावित भएको छ ।’ आफूहरूको तलबको रकम भुक्तानी नहुँदासम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए ।

कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले असोजमा दिएको लिखित आश्वासन कार्यान्वयन नगरेको उनको आरोप छ । यता नगर प्रमुख अजय प्रकाश जयसवालले करारका कर्मचारीको मागप्रति गम्भीर रहेको बताएका छन् ।

यद्यपि विभिन्न समस्याका कारण तलबभत्ता भुक्तानी नभए पनि यथाशीघ्र दिने प्रतिबद्वता जनाएका छन् । कटहरिया नगरपालिकामा भएको आन्दोलनका कारण कामकाज प्रभावित भएको छ ।