दाङ – घोराही सिमेन्ट उद्योगमा कार्यरत श्रमिकहरू तलबमा ठगी भएको भन्दै आन्दोलित भएका छन् ।
रोजगारदाता कम्पनी घोराही सिमेन्ट उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोमा सरकारले ताकेको न्यूनतम पारिश्रमिकमा नदिइएको भन्दै शनिबार उद्योगबाहिर प्रदर्शन गरिएको छ ।
सरकारले दैनिक ६६८ रुपैयाँ न्युनतम पारिश्रमिक तोके पनि उद्योगले बीचमा श्रमिक सप्लायर्स कम्पनी बिचौलिया खडा गरी वर्षौंदेखि प्रतिव्यक्ति प्रतिदिन २०० रुपैयाँसम्म ठगी गरेको श्रमिकको आरोप छ ।
श्रमिक सप्लायर्स कम्पनीले बैंक खातामार्फत तलब नदिई प्रतिदिन ५०० रुपैयाँका दरले मात्र दिने गरेको तर रोजगारदाता कम्पनी घोराही सिमेन्ट उद्योगबाट सप्लायर्स कम्पनीले १० प्रतिशत कमिसनसहित पैसा बुझ्ने गरेको आरोप छ । न्युनतम पारिश्रमिक समेत नदिने गरेको बिलसहित श्रम मन्त्रालयमा २ महिनाअघि उजुरी दिँदा समेत हालसम्म कारवाही नगरेको श्रमिकको गुनासो छ ।
आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विकास योजना तथा नीति तर्जुमा केन्द्रीय विभागका सचिव विशाल अधिकारीले विगत १० वर्षमा स्थानीय श्रमिकको पसिनामा २५ करोड बढी ठगी गरेको तथ्यांक प्राप्त भएको भन्दै श्रम मन्त्रालय र विभागले टुलुटुलु हेरेर बस्न नमिल्ने बताए ।
‘श्रमिकको पसिनामा १० वर्षमा २५ करोड बढी ठगी भएको तथ्यांक देखियो,’ उनले भने, ‘२ महिनासम्म पनि एक्सन लिन नसक्ने मन्त्रालयको काम छैन, श्रमिकको पक्षमा काम गर्न नसक्ने हो भने कुर्सीमा बस्नुको औचित्य पनि हुँदैन, मन्त्रीले राजीनामा दिँदा हुन्छ ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रास्वपाकै उपसभापति डोलप्रसाद अर्याल छन् । श्रमिक ठगिँदा काम गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने अभिव्यक्ति रास्वपाकै विभागीय सचिव अधिकारीले दिएका छन् । रास्वपाकै मन्त्रीले श्रमिकको पक्षमा काम नगरेको गुनासो श्रमिकको छ ।
घोराही सिमेन्ट उद्योग पीडित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मधुसुधन घिमिरेले वडा कार्यालयमा बोलाएर छलफल गराउँदा समेत श्रमिक सप्लायर्स कम्पनीले न्युनतम पारिश्रमिक दिन तयार नभएको बताए । वडाध्यक्ष घिमिरेले यस्तै रवैया रहे उद्योग सधैंका लागि बन्द गराउने चेतावनी दिए ।




प्रतिक्रिया