काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चारमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ ।’
यसैगरी उनले दोषी देखिए बाँस्कोटा कानुनबमोजिम सजायको भागीदार हुने भन्दै सहकर्मीलाई धैर्य गर्न आग्रह गरेका छन् । आफूले कांग्रेस निकट विद्यार्थी संगठनजस्तो भ्रष्टाचार आरोपी जोगाउन सडकमा नउत्रिने स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘साथीहरु धैर्य गर्नुस्, दोषी भए कानुनबमोजिम गोकुल बाँस्कोटा सजायको भागिदार हुनेछन्, हामी आलम र गच्छदारलाई जोगाउन सडकमा गएजसरी जाँदैनौं ।’
त्यस्तै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले अडियो टेप काण्डबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
उनले भनेका छन्, ‘सरकार ! जे सुनिएको छ, जे देखिएको छ, जनता जान्न चाहन्छ, संञ्चारमन्त्रीको डियोटेप के हो ? यसबारे तत्काल स्पष्ट गरियोस !’




प्रतिक्रिया