काठमाण्डु – उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादबारे टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टीमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफूहरूले कप्तानको नाम पठाउनुपरेको बताइन् ।
उनले भनिन्, ‘एन्फाले नै बिदाई कार्यक्रममा नै क्याप्टेन राखेरै जाउँ भन्ने कुरा गरेका थियौं, हाम्रो हेडकोचलाई तर उहाँले उतै गएर गरौंला भन्नुभयो, हामीले पनि हुन्छ नै भन्यौं । हाम्रो नियममा नै छ, खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ । हामीले बारम्बार माग्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो, ९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो । जसमा कप्तानको नाम थिएन । त्यसपछि हामीले सिनियारिटी हेरेर रेनुका नगरकोटीलाई कप्तान बनाएका थियौं ।’
कप्तानको नाम रेनुका लेखेर बुझाएपछि मात्र हेडकोचले साम्बालाई कप्तान बनाउने कुरा खुलाएको भन्दै त्यसपछि समस्या भएको पनि उनले बताइन् । उनले भनिन्, ‘खेलाडीहरू ग्राउन्डमा जाने बेला मात्र कप्तान साम्बा हो भनेर भन्नुभयो, त्यो कुरा पहिला नै भनेको भए हामीलाई समस्या नै हुँदैन्थ्यो त । हामीले खेलाडीको लिष्ट कप्तानको नाम रेनुका लेखेका छौं, अब परिवर्तन गर्दा जरिवाना पर्ने हो कि भनेर भनेका थियौं, त्यसपछि उहाँ आफंै चर्किनुभयो ।’
छनोटअन्तर्गत पहिलो खेलअघि नेपाली महिला फूटबल टोलीको कप्तान १ घण्टामै परिवर्तन गरिएको थियो । पहिलो खेलमा नेपाली महिला फूटबल टीमको कप्तानको जिम्मेवारी सुरुमा रेनुका नगरकोटीलाई दिएको थियो भने त्यसपछि केही समयमा नै सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।




प्रतिक्रिया