एन्फा महिला लिग आजदेखि

एन्फा महिला लिग आजदेखि

उद्घाटन खेल एनआरटी र संकटा एफसीबीच हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शहीद स्मारक एन्फा महिला लिग २०८२ बुधबारदेखि सुरु हुँदैछ।

यस प्रतियोगितामा नौवटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सबै खेलहरू ललितपुरको च्यासल मैदानमा हुनेछ ।

लिगको उद्घाटन खेल बुधबार बिहान ११ बजे न्युरोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन दिउँसो ३ बजे झापा एफसीले त्रिभुवन आर्मीसँग खेल्ने तालिका छ।

वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ। महिला लिग २०८२ को प्रिम्याच प्रेस कन्फ्रेन्स सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार सम्पन्न भएको थियो। उक्त प्रेस कन्फ्रेन्समा ६ वटा टोलीले आफ्नो सहभागिता जनाए तर तीनवटा टोली भने प्रिम्याचमा उपस्थित भएनन्।

प्रिम्याचमा उपस्थित भएका सम्पूर्ण टोलीले उपाधिको लागि प्रतिस्पर्धा दिने बताए। यस पटकको महिला लिगमा एउटा क्लबले ४ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान रहेको छ। जसका कारण विभागीय टोलीहरूलाई अन्य टोलीले प्रतिस्पर्धा दिन सक्छन्।

एन्फा महिला लिग २०८१ को उपविजेता टोली नेपाल पुलिस क्लब २०८२ मा उपाधिको खोजीमा मैदान उत्रनेछ।

नेपाल पुलिस क्लबमा केही राम्रा खेलाडीहरू भित्रिएका छन् जसमा युवा फरवार्ड मिना देउबा पनि रहेकी छिन्।

तीन विभागीय टोलीको मुख्य प्रतिस्पर्धा रहने नेपालको घरेलु महिला फुटबलमा यसपटक त्रिभुवन आर्मी क्लबले पनि उपाधिकै लक्ष्य राखेर महिला लिग २०८२ खेल्नेछ।

त्रिभुवन आर्मी क्लब पछिल्लो समय स्कोरिङ लाइनमा चुकिरहेको थियो। यो समस्यालाई समाधान गर्दै एन्फा लिग २०८२ मा सुधारिएको प्रदर्शन मैदानमा गर्ने लक्ष्यमा आर्मी रहन्छ।