सर्वाेच्चका पूर्वन्यायाधीश सिन्हालाई उद्योग र कानून मन्त्री बनाउने तयारी

सर्वाेच्चका पूर्वन्यायाधीश सिन्हालाई उद्योग र कानून मन्त्री बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनाउने तयारी गरेकी छन् ।

हाल कानून मन्त्रालय गृहमन्त्री समेत रहेका ओमप्रकाश अर्यालले सम्हालिरहेका छन् तर सिन्हा मन्त्री नियुक्त भएसँगै कानून मन्त्रालय उनैलाई सम्हाल्न दिने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण २०८० सालमा निवृत्त भएका थिए । नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरेपछि वकालत पेशामा लागेका सिन्हा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि वरिष्ठ अधिवक्ताका रूपमा कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ अधिवक्ता रहेका थिए ।

सर्वोच्च अदालतमा ७ वर्ष न्यायाधीश रहँदा उनले संवैधानिक, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दा निरुपणमा महत्त्वपूर्ण योगदान दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी विवाद, प्रतिनिधि सभाको पहिलो विघटन, कर फर्स्यौट आयोग सम्बन्धी विवाद निरुपणमा उनले भूमिका निर्वाह गरेका थिए ।