जेनजी आन्दोलनका उपलब्धिहरू खेर जान दिने छैन : मन्त्री सिन्हा

जेनजी आन्दोलनका उपलब्धिहरू खेर जान दिने छैन : मन्त्री सिन्हा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनीलकुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरूको आहुति खेर नजाने बताएका छन् ।

सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनुपरेको भन्दै उनीहरूको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए ।

उनले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि र जुन प्रयोजनको लागि आन्दोलन भएको थियो, जुन कुरा उठाउनुभयो, त्यसका लागि काम गर्नुपर्नेछ । जस्तो अहिले देशमा भइरहेको सुशासन र रोजगारीको अभावमा धेरैले ज्यान पनि गुमाउनुपरेको छ । उहाँहरूले दिनुभएको देन र ज्यानको आहूति आगामी दिनमा खेर जाँदैन भन्ने विश्वास लिएको छु । मैले जुनसुकै काम गर्दा पनि उहाँहरूको अनुहार मेरो अगाडि आउँछ । घाइतेहरूको अनुहार पनि आउँछ । सायद त्यसले मलाई ऊर्जा पनि दिन्छ ।’

उनले युवाहरूको सीप व्यवस्थापन र रोजगारीका कुराहरू आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए ।

उनले भने, ‘उद्योग र देशको अर्थ व्यवस्था चलायमान भएन भने युवा साथीहरूले देशभित्र बस्ने वातावरण बन्न सक्दैन । त्यो वातावरण बनाउनका लागि उहाँहरूको क्षमता विकास गर्नुपर्ने अवस्था पनि छ । सबैभन्दा पहिला युवाहरूको सीप व्यवस्थापन, रोजगारीका कुराहरू नै पहिलो प्राथमिकता हुनेछ । जसको मृत्यु भएको छ, जो घाइते हुनुहुन्छ उहाँहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने विषयमा छलफल गर्नेछु ।’