निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा

निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कानून, न्याय तथा संसदीय व्यवस्था एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले ०५२ सालदेखिको आन्दोलन देखेको पार्टीहरूले अहिले १००० वा ५०० वटा बन्दुक बाहिर छ भन्ने कारणले सुरक्षाको वातावरण छैन भनेर भन्न खोजेको कुरा विश्वासलाग्दो नभएको बताएका छन् ।  

मंगलबार काठमाण्डुमा आयोजित आगामी प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर विषयक राजनीतिक दलहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले २०५२ सालको विश्वासको वातावरणको तुलनामा आजको वातावरण राम्रो नै भएका भन्दै सुरक्षाको त्यस्तो गम्भीर अवस्था नभएको बताए ।

उनले भने, ‘५२ सालदेखिको आन्दोलन देखेका पार्टीहरू छन् । जहाँ जुनबेला जुनसुकै बेला गोली चल्न सक्थ्यो । त्यो बेलाको वातावरण र अहिलेको वातावरणलाई तुलना गरेर हेरौं त ! त्यो बेलाको विश्वासको वातावरण के थियो र आजको विश्वासको वातावरण के छ ? ५ हजार कैदीहरू बाहिर छन्, तिनीहरू चोरीचकारी गर्ने के होलान् । हतियारको कुरा गर्दा हजारभन्दा तल आइसकेको भनिएको छ । के आजको दलहरू त्यो १ हजार वा ५०० वटा बन्दुक बाहिर छ भन्ने कारणले गर्दा डराएर चुनावमा आउन सकिँदैन, सुरक्षाको वातावरण छैन भनेर भन्न खोजेको हो भने जस्तो मलाई विश्वास लाग्दैन ।’

निर्वाचनको वातावरणको विषयमा १ स्थानमा बसेर छलफल गरेर समस्याहरूलाई उजागर गरेर समाधानतर्फ संयुक्त रूपमा जाउ भन्ने एउटा मञ्च बन्छ र त्यहाँ उपस्थित हुने अवस्था आउँछ भने सबैभन्दा ठूलो वातावरण त्यही नै भएको उनले बताए ।

चुनावको वातावरण कसले बनाउने भन्ने प्रश्नमा जसको लागि चुनाव हुन लागेको छ उनीहरू सबै मिलेर बनाउनुपर्ने पनि उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको लागि सुरक्षाको प्रश्न सबैभन्दा महत्त्वपूर्ण भएको भन्दै हतियार सहितका बन्दीहरू बाहिर रहेका अवस्थामा सरकारले चनाखो भएर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘निर्वाचनको कुरा गर्दा एउटा सुरक्षाको प्रश्न छ । अहिले हतियार सहितका बन्दीहरू बाहिर छन् । ती कुराहरूमा सरकारले चनाखो भएर काम गर्नुपर्छ । जति सकिन्छ सुरक्षाको पक्षमा विशेष ध्यान दिनुपर्छ ।’

झण्डै ३० लाख मानिस नेपाल बाहिर रहेको अवस्थामा विदेशमा रहेका नेपालीहरूको मतदानको कुरा सम्भव छ कि छैन भन्ने प्रश्न उठेको भन्दै उनीहरूले बाहिरबाट मतदान गरेको ठीक तरिकाले भयो भन्ने कुराको ग्यारेन्टी लिने शक्ति विकास गर्न सके सम्भव रहेको उनले बताए ।

उनले भने, ‘विदेशमा रहेका नेपालीहरूको मतदानको प्रश्न छ । अहिले नेपालमा भएको समस्यालाई ध्यानमा राख्ने हो भने नेपालभित्रकै समस्याबाट पार हुन कठिनाइ भइरहेको छ । यस्तो अवस्थामा झण्डै ३० लाख मानिस नेपाल बाहिर छ भन्ने कुरा आएको छ । उनीहरूले बाहिरबाट मतदान गराउने वा ठीक तरिकाले भयो भन्ने कुराको ग्यारेन्टी लिने कुरामा गम्भीरताका साथ लिनुपर्छ ।’

सोही क्रममा नेकपा एमालेका नेता अग्नि खरेलले चुनावको कुरा गर्दा प्रहरीको मनोबल अझै उठाउन नसकेको भन्दै यस्तो अवस्थामा निर्वाचन हुन्छ भन्ने विश्वास कसरी गर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘हामी चुनावको कुरा गर्दैगर्दा प्रहरीको मनोबल उठाउन सकेका छैनौं । कसरी निर्वाचन हुन्छ भन्ने विश्वास गर्ने, निर्वाचनमय वातावरण बनाउनुपर्छ होला नि त ! त्यो वातावरण बनेको छ ?’