विप्लवलाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छः अनिता देवकोटा

विप्लवलाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छः अनिता देवकोटा


काठमाडौं – सांसद अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को ठान्ने गल्ती नगर्न सरकारलाई चेतावनी दिएकी छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले विप्लवलाई वार्तामा ल्याएर सामाधान गर्न आग्रह गरेकी हुन् ।

‘भूमिगत अवस्थामा विद्रोह गरिरहेको विप्लवलाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छ’, उनले भनिन्, ‘विद्रोहमा रहेको नेकपा विप्लव समूहलाई सानो झिल्को नठानी वार्तामा ल्याइयोस र समाधान गरियोस ।’

सांसद देवकोटाले सरकारको नेतृत्वमा रहेकाहरु र विप्लव समूह कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने उल्लेख गरिन् ।

‘अहिले सरकारको नेतृत्व गर्ने र विप्लव समूह सजातीय भएकाले एकलाई अर्काको कमजोरी थाहा छ’, उनले भनिन्, ‘दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइयो । एनसेलका टावर जलिरहेका छन्, यसले राम्रो संकेत गर्दैन ।’

सांसद देवकोटाले विप्लव समूहलाई वार्तामा ल्याइ यो समस्या समाधान गर्न नसकेमा देशमा अर्को द्वन्द्व चकिर्नेतर्फ सरकारलाई सचेत गराइन् ।

साथै उनले उखु किसानले समयमा भुक्तानी पाउनुपर्ने भन्दै सरकार श्रमिकको सरकार हो कि होइन भन्दै प्रश्न गरेकी छन् ।

सांसद देवकोटाले भारतले अक्रिमण गरेको सिमानाको विषयमा सरकारले के काम गर्दैछ सदनमा जानकारी दिन माग गरेकी छन् ।