शहरी विकास नपाएका एनपी साउँद: भारतले रुचाएका ‘कम्फर्टेबल’ परराष्ट्रमन्त्री

शहरी विकास नपाएका एनपी साउँद: भारतले रुचाएका ‘कम्फर्टेबल’ परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् गत चैत १७ गते शुक्रवार विस्तार हुनुअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश (एनपी) साउँद सामाजिक सञ्जाल फेसबुकमा बधाई खाइरहेका थिए ।

पार्टीले उनलाई शहरी विकास मन्त्री बनाउन सिफारिस गरेको भनेर सञ्चारमाध्यमदेखि फेसबुकसम्म प्रचार भयो तर अन्तिम निर्णय हुँदा उनको नाम काटियो ।

सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिए पनि उनको नाम काटिएपछि धेरै आश्चर्यमा परे । उनले चाहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र शहरी विकास मन्त्रालय अरुलाई नै दिइयो । उनले पाएको भनी प्रचार भएको शहरी विकास मन्त्रीमा सिता गुरुङ नियुक्त भइन् ।

चर्चा र प्रचार भइसकेको शहरी विकास मन्त्रीमा नाम काटिएका एनपी साउँद आइतवार हतारहतारमा फ्याट्ट परराष्ट्रमन्त्री बनेका छन् । देशभित्र ‘मालदार’ मानिएका मन्त्रालयमा जाने इच्छा व्यक्त गर्दागर्दै पनि उनको नाम काटिएर परराष्ट्रसम्म कसरी पुग्यो ? उपनिर्वाचनको मुखमा हतारहतार मन्त्रीको शपथ किन खुवाइयो ? यसका पछाडि थुप्रै कारण छन् ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएदेखि नै परराष्ट्रमन्त्रीको खोजी थालिएको थियो । कांग्रेस उच्च स्रोतका अनुसार गठबन्धनभित्र डा. शेखर कोइराला परराष्ट्रमन्त्रीका लागि सर्वमान्य अनुहार थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले परराष्ट्रमन्त्री कोइरालालाई बनाउनुपर्ने सल्लाह गरेका थिए तर कोइरालाले नै आफू सरकारमा नजाने र परराष्ट्रमन्त्री नबन्ने अडान लिए । कोइरालाले मन्त्री नबन्ने भएपछि अन्य विकल्पमा छलफल थालियो ।

कांग्रेसभित्र परराष्ट्रमन्त्रीका लागि उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवा, रमेश रिजालको नाम छलफलमा आएको थियो । मन्त्रालय भागबण्डा हुनुअघि माओवादीका नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले पनि परराष्ट्र मन्त्रालयमा रुचि देखाएका थिए । उपेन्द्रले उपनिर्वाचनबाट सांसद निर्वाचित भएर आउने भएकाले आफ्ना लागि परराष्ट्र मन्त्रालय रिक्त राख्नुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । तर परराष्ट्र कांग्रेसको भागमा परेपछि मन्त्री कांग्रेसभित्रै खोजिने भयो ।

भारतीय ‘स्वार्थ’ हाबी

राजनीतिक उतारचढावसँगै दक्षिणी छिमेकी भारतसँग नेपालको सम्बन्ध स्थिर छैन । नयाँ संविधान घोषणादेखि नै भारतीय संस्थापनले असन्तुष्टि जनाउँदै आएको छ । यतिबेला प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले पनि भारतलाई रिझाएरै जाने नीति लिएका छन् । गठबन्धन बन्नुअघि प्रचण्डले एक अन्तर्वार्तामा कांग्रेस र माओवादी मिल्नु नै भारतका लागि ‘कम्फर्टेबल’ हुने अभिव्यक्ति दिएका थिए ।

यसपालि भारतलाई रिझाउन र विदेश सम्बन्ध सुमधुर बनाउन प्रचण्ड र देउवा दुवैले भारतीय स्वार्थलाई महत्त्व दिएका थिए । परराष्ट्रमा उपसभापति खड्काले चासो दिँदा उनलाई रोक्न रमेश रिजालको नाम अगाडि ल्याइएको थियो । खड्का उत्तरी छिमेकी चीन नजिक रहेको चर्चा कांग्रेस वृत्तमा हुने गर्छ । परराष्ट्रमा लडाएर खड्कालाई रक्षामन्त्री र रिजाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएको छ ।

त्यसपछि परराष्ट्रमन्त्री बन्ने दौडमा नेत्री आरजु राणा देउवा थिइन् तर सभापति देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउन चाहेनन् । आरजुले परराष्ट्रमन्त्री बनेमा भारतसँगको सीमा विवाद, असमान सन्धीसम्झौताको पुनरावलोकन लगायत विषय उचालेर विवादमा ल्याइनसक्ने भएकाले देउवाले आरजुलाई परराष्ट्रमन्त्री बनाउन नचाहेको स्रोतले जनाएको छ । आरजुलाई भारतले परराष्ट्रमन्त्रीमा रुचाएको भए पनि देउवाले बनाउन चाहेनन् ।

यति नै बेला एनपी साउँदको नाम मन्त्रीको सूचीबाट काटिएको खबर भारतसम्म पुगिसकेको थियो । साउँदकी श्रीमती ज्योत्सना साउँद विश्व हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष भएकाले भारतीय संस्थापनसँग उनको निकट सम्बन्ध छ । भारतमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार छ । त्यसैले साउँदप्रति भारतको सद्भाव थियो ।

अर्काेतिर सुदूरपश्चिमका प्रभावशाली कांग्रेस नेता रमेश लेखक र प्रदेश सभापति वीरबहादुर बलायर नेता एनपी साउँदलाई रोक्न आरजुलाई अगाडि बढाइरहेका थिए । देउवाले आरजुलाई मन्त्री बनाउन नचाहेपछि अन्ततः एनपीको भाग्य खुल्यो । ‘मालदार’ मन्त्रालय नपाए पनि अन्तिममा एनपी साउँदले अन्तर्राष्ट्रिय छवि बनाउने परराष्ट्र मन्त्रालय पाएका छन् ।

नियुक्तिदेखि भेटवार्तासम्म अतिरिक्त सक्रियता

प्रमुख दलहरू वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको चटारोमा रहेकाले मन्त्री नियुक्ति पनि उपचुनाव पछि नै हुने अनुमान थियो । तर बीचमा एकाएक परराष्ट्रमन्त्रीमा साउँदलाई नियुक्त गरेर शपथ ग्रहण गराइयो । यस्तो हतारो गरेर अतिरिक्त सक्रियता किन ?

प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट गर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर राजनीतिक उथलपुथलले उनी प्रधानमन्त्री भएको लामो समयसम्म पनि विदेश भ्रमण हुन सकेको थिएन । यसै सन्दर्भमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउँदै थिए ।

उनी सोमवार काठमाडौं पुग्ने सन्देश दिल्लीबाट आएको स्रोतले जनाएको छ । त्यसअघि नै सरकारले परराष्ट्रमन्त्री दिइसक्नुपर्ने थियो । प्रचण्ड र देउवाले हतारहतार सल्लाह गरेर भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौं पुग्नुभन्दा १ दिनअघि नै परराष्ट्रमन्त्री नियुक्त गरेर कार्यभार सम्हाल्न लगाए । अब परराष्ट्रमन्त्री साउँद र विभाग प्रमुख चौथाइवालेको छलफलपछि प्रचण्डको भारत भ्रमणको मिति तय हुनेछ ।

परराष्ट्रमन्त्रीको नियुक्तिमा भएको हतारो जस्तै बधाई तथा शुभकामना आदानप्रदानमा पनि हतारो देखियो । साउँदले कार्यभार सम्हालेको केही घण्टामै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । मन्त्री साउँदले मन्त्रालयको ब्रिफिङ नलिँदै राजदूतले कार्यकक्षमै आएर बधाई दिनुलाई अस्वाभाविक मानिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि सामाजिक सञ्जालमार्फत मन्त्री साउँदलाई बधाई दिएका छन् ।

परराष्ट्रमन्त्री साउँदले पदभार ग्रहण गरेपछि सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता जनाएका छन् । तर उनको नियुक्तिदेखि शुभकामना आदानप्रदानको अतिरिक्त सक्रियता र उनकी श्रीमतीको भारतीय संस्थापनसँगको सम्बन्धले आलोचना हुनसक्ने देखिन्छ । पदभार ग्रहण गर्दादेखि नै उनको तात्कालिक कार्यभार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गराउनु हुनेछ, जसले गर्दा स्वाभाविक रूपमा उनी भारतसँग बढी छलफलमा हुनेछन् । तर भविष्यमा परराष्ट्रमन्त्री साउँदले चीन लगायत अन्य देशसँगको सम्बन्धलाई कसरी अगाडि बढाउँछन् ? भविष्यले बताउनेछ ।