हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ : अभिनेता अनुप


काठमाण्डु – नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ ।

प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहेतापनि दर्शकले भिलेनमा रुचाए ।

‘अहिले सहजै कलाकार मान्नुहुन्छ । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे’, अभिनेता अनुप विक्रम शाहीले भने । ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो ।

त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन् । मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन् । ‘ऐश्वर्य’ मा भिलेनको भूमिका निर्वाह गरेपश्चात् उनलाई त्यस्तै अफर आइरहेको बताउँछन् अभिनेता ताम्राकार ।

‘मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ’, उनले भने । काठमाण्डुमा अनुप, प्रशान्त अभिनित फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा बोल्दै आर्यन अधिकारीले सोचाइमा परिवर्तन आएको बताए ।

“हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु । म कलाकार हुँ । सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु”, अभिनेता अधिकारीले भने । दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् ।

सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement