रुपन्देही – गएराति अपहरणमा परेकी पत्रकार विन्दु चौहानकी छोरी नेपाल भारतको सिमानामा आज बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् ।
अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले अपहरण गरी छाडेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० आफ्नै निवासबाट अपहरणमा परेकी ममता लुम्बिनीको मोग्लाहादेखि एक किलोमिटरको दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हृदय थापाले जानकारी दिए ।
केही दिनअघि लुम्बिनीमा गोरु तस्करी सम्बन्धी समाचार लेखेका कारण चौहानलाई ज्यान मार्ने र परिवारलाई समेत पीडा दिने धम्की आएको थियो ।
‘गोरु तस्करीको समाचार लेखेपछि मलाइ मार्ने धम्की दिएका थिए’, उनले भनिन्, ‘मलाई तर्साउन तस्करले नै मेरो छोरी अपहरण गरेको हुनुपर्छ, समाचार लेखेकै कारण म र मेरो परिवार असुरक्षित छौ ।’
अपहरणपछि भेटिएकी ममताको मानसिक अवस्थामा आघात पुगेको हुनसक्ने भन्दै उपचारका लागि भैरहवाको भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
अपहरणमा संलग्नको खोजी भइरहेको प्रहरी प्रमुख थापाले बताए । उनले भने, ‘पत्रकार चौहानलाई धम्की दिने र अन्य आशङ्का भएकालाई पक्राउ गरी दोषीलाई कारवाही गर्छौं ।’




प्रतिक्रिया