अपराध महाशाखाले उपत्यकामा सुरु गर्यो चोरी तथा लुटपाट घटना नियन्त्रण अभियान


काठमाडौं- महानगरीय अपराध अनुसन्धान महाशाखाले ‘चोरी तथा लुटपाट घटना नियन्त्रण अभियान ०७७’ को सुरुवात गरेको छ । उपत्यकामा लकडाउनको समयमा चोरीका घटना बढेपछि अपराध महाशाखाले यस्तो अभियान सुरु गरेको हो ।

अपराध नियन्त्रण महाशाखाका प्रमुख एसएसपी दिपक थापाले चोरी तथा लुटपाटका घटनाहरूको नियन्त्रणका लागि महाशाखाले अभियान सुरु गरेको जानकारी दिंदै त्यसका लागी विभिन्न निकायहरूसंग समन्वय गरी सादा पोशाकमा प्रहरी खटाइएको बताए ।

यसअघि महाशाखाको टिमले नै चोरी गरेको आरोपमा फरार रहेका र विभिन्न ठाउंमा चोरी गरेर भागेका गिरोहलाई पक्राउ गरेको थियो । लकडाउनको मौका छोपी नक्कली प्रेस कार्ड बनाएर चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया थिए । लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा जनाएको थियो ।

त्यसैगरी रातको समयमा मन्दिर फुंटाउंदै चोरी गर्ने तथा चोरीमा संलग्न फरार अभियुक्त पक्राउ परेका थिए । पक्राउ पर्नेमा सिन्धुली घर भएका सुजन तामांग र भोजपुर घर भएका पृथ्वी विक रहेका थिए ।

‘लकडाउनको फाइदा उठाउंदै रातको समयमा चोरीका घटना बढेपछि यस्ता घटनाको पहिचान गरी न्यूनीकरण र नियन्त्रण गर्न हामी लागेका छौ, चोरी तथा लुटपाट हुन सक्ने सम्भावित स्थानहरूमा निगरानी बढाउने काम समेत अघि बढेको छ ।’ एसएसपी थापाले काठमाडौंपाटीसंग भने ।

अपराध महाशाखाले आफूमातहतका प्रहरीहरू सादा पोसाकमा खटाउनुको साथै चोरीका घटना नियन्त्रणका लागि उपत्यकाका तीनवटै परिसर तथा वृत्तहरूसंग समेत समन्वय गर्ने योजना तयार पारेको छ ।

महाशाखाका प्रमुख एसएसपी थापाकाअनुसार लकडाउन कार्यान्वयन गर्न महाशाखाको टोली खटिनुका साथै लकडाउनको फाइदा उठाएर कालोबजारी गर्ने, गैरकानुनी काम गर्ने र विगतमा अनुसन्धान गर्न बांकी रहेका ज्यान मुद्धा र ठगीका मुद्धाको समेत फलोअप गर्ने काम भइरहेको छ ।

उपत्यकाका विभिन्न स्थानमा भएका चोरीका घटनाको अनुसन्धान गरी त्यसको पहिचान गर्न र चोरी अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको थापाको दावी छ । एसएसपी थापाले गत महिना मात्र महाशाखाको नेतृत्व सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement