खक्रौलाका सशस्त्र प्रहरी कमाण्डरसहित कर्मचारीलाई कारवाही गरिँदै, मुख्यालयमा बोलावट

खक्रौलाका सशस्त्र प्रहरी कमाण्डरसहित कर्मचारीलाई कारवाही गरिँदै, मुख्यालयमा बोलावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको घटनाको छानविन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारवाहीको लागि गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेल सहितका कर्मचारीलाई काठमाण्डुस्थत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।

चैत्र ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर केही तस्कर समूह अनाधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दा समेत बल प्रयोग नगरेको तथा युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरूलाई प्रधान कार्यालय झिकाइएको छ ।

कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदा समेत के–कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबिन गर्ने भएको छ ।

तस्कर समूह सशस्त्र प्रहरी बल नेपालको कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । तस्करी रोक्न विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्‍याएको प्रधान कार्यालयको ठहर छ ।

यसअघि घटनाको विषयमा छानबिन गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नम्बर ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ ।

तत्काल घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीहरूलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट टोली बदली समेत गरिएको छ ।

सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकोमा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको थियो ।