धनगढी – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, विपद् स्वयंसेवक र विपद् सूचकहरूलाई सम्मान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ वार्षिकोत्सवको विशेष अवसरमा आईतबार आयोजित समारोहमा महानिरीक्षक अर्यालले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
सम्मानित हुने निर्वाचन प्रहरीले बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय साइलेक मतदान केन्द्रमा खटिएको समयमा प्रशंसनीय कार्य गरेका थिए । उनले मतदानका लागि आएका अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धाहरूलाई पिठ्युँमा बोकेर मतदान केन्द्रसम्म ल्याउने र लैजाने गरी मानवीय सेवा पुर्याएका थिए ।
विपद्को समयमा आफ्नो ज्यानको प्रवाह नगरी डुबानमा परेका नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याउन अहम् भूमिका निर्वाह गर्ने ‘समुदाय विपद् स्वयंसेवक’ र विपद्का घटनाबारे समयमै जानकारी गराई उद्धारमा खटिने ‘विपद् सूचक’हरूलाई पनि महानिरीक्षक अर्यालले सम्मान गरे ।
विपद् व्यवस्थापनलाई समुदाय स्तरसम्म पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बलले देशभर विशेष तयारी गरिरहेको छ । सशस्त्र प्रहरीले हालसम्म देशभर १ हजार ११४ जनालाई विशेष तालिम प्रदान गरी ‘समुदाय विपद् स्वयंसेवक’ तयार पारेको छ ।
प्रत्येक वडाबाट २५ जनाका दरले देशभरका ६ हजार ७४५ वडामा कुल १ लाख ६८ हजार ५७५ जनाको ‘विपद् सूचक समूह’ तयार पारिएको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टका अनुसार नागरिकको जीउधनको सुरक्षा र संकटका बेला छिटोभन्दा छिटो उद्धार कार्य सञ्चालन गर्न यसरी समुदाय स्तरमा संयन्त्र निर्माण गरिएको हो । वार्षिकोत्सव समारोहमा सशस्त्र प्रहरीका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति थियो ।




प्रतिक्रिया