सशस्त्र प्रहरीका जनशक्ति पूर्ण व्यावसायिक र निष्पक्ष हुनु जरुरी छ : आईजीपी पौडेल  

सशस्त्र प्रहरीका जनशक्ति पूर्ण व्यावसायिक र निष्पक्ष हुनु जरुरी छ : आईजीपी पौडेल  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण जनशक्ति पूर्ण रूपमा व्यावसायिक र निष्पक्ष हुन जरुरी रहेको बताएका छन् ।

साउन ७ गते राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्स (सीसीएससी) को समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यस्तो बताएका हुन् ।

उनले उत्कृष्ट र सफलतापूर्वक तालिम सम्पन्न गरेका अधिकृतहरूलाई हार्दिक बधाई दिँदै तालिममा सिकेका सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई कार्यक्षेत्रमा अक्षरश पालना गर्दै उच्च अनुशासन र मनोबलका साथ इमान्दार भई सदैव राष्ट्र र संगठनको हितमा कार्य गर्न निर्देशन दिए ।

आईजीपी पौडेलले प्रशिक्षार्थी अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गर्नु नेतृत्व विकासका लागि संगठनले गरेको लगानीको पूर्णता भएको उल्लेख गर्दै तालिमले अधिकृतहरूमा अनुशासन, परिपक्व नेतृत्व, व्यावसायिकता र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरे ।

उनले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै कार्यक्षेत्रमा संगठनमा कार्यरत मध्यम तहका अधिृकतहरूले सही समयमा विवेकपूर्ण र तथ्यमा आधारित निर्णय लिन सकियो भने संगठनले लिएको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राखेका छन् ।

आईजीपी पौडेलले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद देशको जुनसुकै क्षेत्र र जस्तोसुकै कठिन परिस्थितिमा पनि परिचालन हुनसक्ने शारीरिक, मानसिक, बौद्धिक, नैतिक रूपमा सक्षम र व्यावसायिक जनशक्ति तयार गर्न राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रशिक्षण प्रतिष्ठानलाई थप आधुनिकरण र वैज्ञानिक बनाउँदै लैजान जरुरी रहेको बताए ।

सोही अवसरमा आईजीपी पौडेलले कोर्समा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ र व्यक्तिगत अनुसन्धान पत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक महेश दाहाललाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । १२ हप्ता अवधिको कोर्समा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरूको सहभागिता थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल, प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापा लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूको समेत उपस्थिति थियो ।