काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा द्वन्द्व बढाउनु नभई परिस्थिति नियन्त्रणमा लिएर शान्ति र सुव्यवस्था कायम गर्नु रहेको बताएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट निलबाराही काठमाण्डुको स्थलगत निरीक्षण कार्यक्रममा रेजिमेन्टद्वारा आयोजित हुल तथा दंगा व्यवस्थापन सम्बन्धी डेमोन्स्ट्रेसन अवलोकनका क्रममा महानिरीक्षक पौडेलले भिड तथा दंगा नियन्त्रण आन्तरिक सुरक्षा व्यवस्थापनको महत्वपूर्ण पक्ष रहेकोले जुनसुकै परिस्थितिमा पनि संगठनको व्यावसायिक दक्षता, निष्पक्षता र कानुनसम्मत कार्यसम्पादन कायम राख्नुपर्नेमा जोड दिँदै सुरक्षा फौज सदैव उच्च सतर्क अवस्थामा रहनुपर्ने बताए ।
सशस्त्र आईजीपी पौडेलले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सूचना, अफवाह र घृणात्मक अभिव्यक्तिले भीडलाई थप उग्र र हिंसात्मक बनाउन सक्ने हुँदा सूचना सङ्कलन र विश्लेषण प्रणालीलाई थप प्रभावकारी बनाउँदै विविध कारण उत्पन्न हुनसक्ने सुरक्षा जोखिमको पूर्वमूल्यांकन गरी सोही अनुरूप आवश्यक योजनासहित तयार पार्न सम्पूर्ण कमान्डरहरूलाई निर्देशन समेत दिए ।
सशस्त्र आईजीपी पौडेलले मैदानमा खटिने फौजलाई कुनै पनि अवस्थामा ओभर रियाक्ट नगर्न र व्यक्तिगत आवेग, उत्तेजना वा पूर्वाग्रहबाट मुक्त भएर कार्य सम्पादन गर्न निर्देशन दिँदै भीड नियन्त्रणका क्रममा बल प्रयोग गर्दा आवश्यकता, समानुपातिकता, कानुनी आधार र न्यायिक जवाफदेहिताका साथ स्थानीय प्रशासन ऐनको पूर्ण पालना गरी बल प्रयोगलाई अन्तिम विकल्पका रूपमा मात्र र गैरघातक तथा कमघातक हतियार एवं प्रविधिको प्रयोगमा जोड दिए ।
उनले हुल तथा दंगा नियन्त्रणको क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष संवेदनशीलता अपनाउनुका साथै नियन्त्रणमा लिइएका वा घाइते भएका व्यक्तिहरूप्रति मानवीय व्यवहार गरी सहयोग गर्नुपर्ने समेत बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेल, नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, दंगा नियन्त्रण रेजिमेन्टका कमाण्डर लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।


प्रतिक्रिया