सशस्त्र प्रहरीमा कल्याणकारी सुविधा थपिए


काठमाडौं – सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरुलाई थप कल्याणकारी सुविधाहरु दिने भएको छ । सशस्त्र प्रहरी कल्याण कोषमार्फत थप सुविधाहरु सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सार्वजनिक गरेका छन् ।

सशस्त्रले कर्मचारीलाई दिने सहुलियत ऋणको सुविधा बढाएको छ । १० वर्ष सेवा अवधी पूरा भएका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई हाल उपलब्ध गराउँदै आएको साविकको किस्ताबन्दी सहुलियत नगद ऋण रकममा वृद्धि गरिएको छ ।

यसअन्तर्गत एसएसपी वा सोभन्दा माथिल्लो दर्जाका लागि सात लाख, इन्सपेक्टरदेखि एसपीसम्म पाँच लाख, जुनियर अधिकृतलाई चार लाख र अन्य दर्जाको लागि ती लाख रुपैयाँ ६ प्रतिशत ब्याजमा पाउने भएका छन् ।

१० वर्ष पुगेका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सिनियर अधिकृतहरुलाई चार पाङ्ग्रे सवारी साधनका लागि कल्याण कोषले किस्ताबन्दी ऋण दिने भएको छ ।

सवारी साधनको ७५ प्रतिशतसम्म वा बढीमा १५ लाख रुपैयाँसम्म यस्तो कर्जा दिन लागिएको छ । प्रहरी परिचरदेखि जुनियर अधिकृतसम्मको प्रहरीको छोरीलाई स्नातक वा माथिल्लो तहमा अध्ययनका लागि ६ प्रतिशत ब्याजदरमा तीन लाख रुपैयाँसम्म कर्जा दिने निर्णय गरिएको छ ।

त्यस्तै, सबै कार्यालयहरुमा एक जवान एक खाटको नीति लागू गरिएको महानिरीक्षक खनालले बताए । अशक्त र लामो समयसम्म ‘फलो अप’ गर्नु पर्नेहरुलाई एपिएफ अस्पतालमा पुनर्स्थापना केन्द्र स्थापना गरिएको छ । सशस्त्र प्रहरीका भवनहरुलाई सशस्त्र प्रहरी बलका सहिदहरुको नाममा नामाकरण अभियान सुरु गरिएको छ ।

‘यसबाट सहिदहरुको सम्मान र वलिदानको स्मरण गराउनेछ, हामीलाई असल मार्गमा हिड्न उत्प्रेरित गर्नेछ भन्ने विश्वास छ,’ महानिरीक्षक खनालले भने ।

१० वर्ष सेवा अवधी पूरा भएका र ५ वर्ष सेवा अवधी बाँकी रहेका सशस्त्र प्रहरीमा कार्यरत तल्लो तहका कर्मचारीका १ जना सन्ततीका लागि इन्जिनियरिङ्ग र चिकित्सा शास्त्रमा स्नातक वा स्नातकोत्तर तह अध्ययन गर्न वार्षिक ६ प्रतिशतको सहुलियत ब्याजदरमा अधिकतम १० लाखसम्म धितो संरक्षणमा शैक्षिक कर्जा उपलब्ध गराइने पनि सशस्त्रले जनाएको छ ।

त्यस्तै स्कुल र अस्पतालहरु विस्तार गरिदै लगिने योजना सशस्त्र प्रहरीको छ । यो वर्ष बाँकेको कोहलपुरमा स्कुल स्थापना हुने र अर्को शैक्षिक वर्षमा सप्तरीको शम्भुनाथमा स्कुल स्थापना गरिने महानिरीक्षक खनालले जानकारी दिए ।

सशस्त्र प्रहरी अस्पतालमा कर्मचारीका लागि कुरुवाघरको निर्माण पक्रिया अघि बढाइएको छ । सशस्त्र प्रहरी महिला कर्मचारीलाई सुत्केरी भएको अवस्थामा एक लाख रुपैयाँ एकमुष्ठ निर्ब्याजी सापटी उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको सशस्त्रले जनाएको छ । शान्ति मिसनमा जानेहरुले पनि एक लाख रुपैयाँसम्म निर्ब्याजी सुरुमै पाउने भएका छन् ।

सशस्त्र प्रहरीमा एसएसपीदेखि माथिल्लो दर्जाबाट अवकाश पाएका अधिकृतहरुलाई एपिएफ क्लबको आजिवन सदस्यता प्रदान गर्न थालिएको छ । सशस्त्र प्रहरी अस्पतालमा सेवा थप गरिएको र कुरिनटारमा ट्रमा केयर सेन्टर सञ्चालन भइसकेको महानिरीक्षक खनालले जानकारी दिए । बिहीबार १९ औँ प्रहरी दिवसमा नयाँ कल्याणकारी कार्यक्रमहरु घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement