काठमाडौं – गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी बल नेपालको भूमिका मुलुकको शान्ति सुरक्षा अमनचयन कायम राख्ने कार्यमा सधैं महत्वपूर्ण रहने बताएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत निरीक्षण गर्दै उनले विभिन्न आरोह अवरोहहरु पार गर्दै सशस्त्र प्रहरी बल नेपाल अहिलेकोस्थानमा आउन सफल भएको चर्चा गरेका थिए ।
गृहसचिव न्यौपानेले कर्तव्य पालनको क्रममा वीरगति प्राप्त गरेका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्दैै घाइते भई उपचाररत सुरक्षाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
उनले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारी निर्वाहमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेको कार्यको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
गृहसचिव न्यौपानेले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा सशस्त्र प्रहरी बल नेपाल लगायत अन्य सुरक्षा निकायकोे भूमिका समेत महत्वपूर्ण रहने तथा शान्ति सुरक्षाको स्थिति मजबुद हुँदा समग्र राष्ट्रको आर्थिक, सामाजिक विकासमा सहयोग पुग्ने बताए ।
उनले कार्यक्षेत्रमा खटिएका कमाण्डरहरुलाई पूर्ण व्यावसायीक भई योजनासहित कृयाशिल रुपमा कार्यक्षेत्रमा परिचालित रहन निर्देशन दिँदै आपूm मातहतका सकल दर्जाका राष्ट्रसेवकहरुको मनोबल समेत उच्च राख्न चिन्तनशील रहन निर्देशन दिए ।
गृहसचिव न्यौपानेले दण्ड र पुरस्कारको नीतिलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिँदै कार्यक्षेत्रमा हुने गैर व्यावसायीक कृयाकलाप कुनै पनि हालतमा क्षम्य नहुने बताए ।
संगठनलाई आवश्यक जनशक्ति, सेवासुविधा र आवश्यक स्रोतसाधन अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भोलिका दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न सक्ने गरी संगठनको आधुनिकीकरण गर्दै अगाडि बढ्ने बताए ।

उनले सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले गरेका कामकोबारेमा जानकारी लिएका थिए ।
सशस्त्र प्रहरीले आफूले गरेका कामको बारेमा जानकारी दिएको थियो । गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण पश्चात सशस्त्रका राष्ट्रसेवक सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशन दिएका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारबाट संगठनलाई प्राप्त हरेक जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यावसायिक रुपमा अहोरात्र कार्यक्षेत्रमा खटिई रहेको उल्लेख गर्दै कार्यक्षेत्रमा परिचालित रहँदा प्राप्त भएको उपलब्धिहरुको विभिन्न क्षेत्रहरुबाट प्रशंसा समेत भएको बताए ।

उनले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् पीडित नागरिकको उद्वार लगायतका विविध जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै भ्रष्टाचार, लैंगिक हिंसा र मानव अधिकारको हनन्मा शुन्य सहनशिलताको नीतिकासाथ संगठन अगाडी बढिरहेको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पुरागर्ने क्रममा सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा उच्च मनोवलकासाथ परिचालित भई सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्यकासाथ प्रभावकारी ढंगबाट परिचालित भई उपलब्धि समेत हासिल गरिरहेको बताए ।
उनले बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा समेत गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले मातहत कर्मचारीको वृत्तिविकास एवं उनीहरुलाई सम्बोधन हुने खालका कल्याणकारी कार्ययोजना तर्जुमा गरिएको बताए ।
सशस्त्र प्रहरी बल नेपालको संचार तथा लाईभ भिडियो स्ट्रिमिङ मार्फत सशस्त्र प्रहरी बलका सम्पूर्ण ईकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत गृहमन्त्रालय एवं सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा एपीएफ अधिकृत, जवानहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया