सशस्त्रमा आइजीपी नियुक्तिको १५ दिनमै धमाधम काजसरुवा, आफ्ना मान्छे ‘काखी’ च्यापे खनालले


काठमाडौं– सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले आफू नियुक्त भएको आधा महिनामै १७ जना सशस्त्र प्रहरीका अधिकृतहरूको काज सरुवा गरेका छन्। तेस्रो नम्बरमा रहेर पनि २७ चैतमा आइजीपी बन्न सफल बनेका खनालले प्रशासन विभागमा कार्यरत दुई जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, तीन जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १२ जना सशस्त्र प्रहरी उपरीक्षकको काज सरुवा गरेका हुन्।

जानकारहरू भन्छन्, ‘संगठनको नेतृत्व सम्हालेको आधा महिनामै धमाधम काज सरुवा गर्नु संगठनको हितका दृष्टिले राम्रो मानिँदैन्।’ तर, आइजीपी खनालले सशस्त्रका काबिल अधिकृतलाई पाखा लगाउँदै आकर्षक मानिने राजस्व भन्सार तथा औद्योगिक सुरक्षा विभाग, महानगरीय सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग लगायतमा आफू निकटका अधिकृतको काज सरुवा गरेका हुन्।

आइजीपी खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुलबहादुर नेम्वाङको आर्थिक प्रशासन निर्देशनालय र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अभिकुमार खत्रीको महेश्वरी बाहिनीमा काज सरुवा गरेका छन्। नेम्वाङ आर्थिक प्रशासन नबुझेको अधिकृत हुँदाहुँदै पनि आइजीपी खनालले आर्थिक प्रशासन निर्देशनालय ल्याएका हुन्।

यसैगरी, सशस्त्र प्रहरी नायव उपरीक्षक क्रमशः कमलप्रसाद तिउसीनाको सशस्त्र प्रहरी महानिरीक्षको सचिवालय, जीवन केसीको कार्य विभाग तथा विपद् व्यवस्थापन महाशाखा र दीपकराज बरालको एपीएफ कमान्ड तथा स्टाफ कलेज सरुवा भएको छ।

खनालले सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेतलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याएका छन् भने सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटाको राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालयमा काज सरुवा गरेका छन्।

को कहाँ पुगे? हेर्नुस् (सूची)

प्रतिक्रिया दिनुहोस
Advertisement