पहिलोपटक कालापानीको १ नम्बर पिलरमा पुग्यो सशस्त्र, लिपुखोलाको काठेपुल भत्कायो

पहिलोपटक कालापानीको १ नम्बर पिलरमा पुग्यो सशस्त्र, लिपुखोलाको काठेपुल भत्कायो


काठमाडौं – सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको १ नम्बर पिलरमा पुगेको छ ।

सीमा सुरक्षामा खटिएको छाङ्रुमा बोर्डर आउट पोस्ट (बीओपी) को २५ जनाको टोली गस्तीका क्रममा पहिलोपटक कालापानी सीमा १ नम्बर स्तम्भमा पुगेको हो । छाङरुमा स्थापना भएको आउट बोर्डर पोस्ट आसपास मात्रै गस्ती गर्ने गरेको सशस्त्र प्रहरी पहिलोपटक गस्तीका क्रममा १ नम्बर पिलर पुगेको हो ।

असार ३ गते सीमा गस्तीमा हिँडेको सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको २५ जनाको टोली नेपाल–चीन सीमासम्म पुगेर आइतवार फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले जानकारी दिए । ‘३ असारमा फोर्स मार्चमा गएको टोली १ नम्बर पिलर पुगेर फर्किएको छ । छाङ्रुमा बीओपी स्थापना भएपछि पहिलोपटक त्यहा पुगेको हो,’ डीएसपी विष्टले भने ।

सशस्त्र प्रहरीले लिपुखोलामा भारतीय पक्षले लगाएको काठेपुलसमेत हटाएको छ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको आधिकारिक नक्सा, तथा निशान छाप जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । गत वैशाख ३१ गते व्यास गाउँपालिका १ स्थित छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

यस्तै असार ३ गते सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाले छाङरु भ्रमण गरेका थिए ।