नेपाल एपीएफ अस्पताल बलम्वुमा अन्कोलोजी युनिटको स्थापना

नेपाल एपीएफ अस्पताल बलम्वुमा अन्कोलोजी युनिटको स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल एपीएफ अस्पताल बलम्वुमा अन्कोलोजी युनिटको स्थापना भएको छ ।

अस्पतालको २२औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष कल्पना थापाले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतिमा स्थापना गरिएको ‘सहवीर थापा अन्कोलोजी युनिट’को संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

अन्कोलोजी युनिट सञ्चालनका लागि स्थापना गरिएको अक्षयकोषमा महानिरीक्षक अर्याल तथा उनको परिवारको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गर्नुका साथै बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले समेत सहयोग रकम प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताल बलम्वुमा निर्माण भएको नयाँ इमरजेन्सी भवनको समेत उद्घाटन गरेका छन् ।

महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत रही वर्षभर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत कदरपत्र प्रदान गरेका थिए ।

उनले अस्पतालमा कार्यरत रहेर उच्च पेशागत दक्षता प्रदर्शन गर्ने नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जन लगायत अन्य कर्मचारीलाई आईजी एपीएफ कमाण्डेसन प्रदान गर्नुका साथै अस्पताललाई अनुकरणीय सहयोग पुर्‍याउँदै आएका विभिन्न संघसंस्था तथा महानुभावलाई कदरपत्र प्रदान गरेका थिए ।

महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालको विविध गतिविधिहरू समेटी तयार पारिएको ‘अस्पताल प्रतिबिम्ब २०८०’को विमोचन समेत गरेका थिए ।

महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पताललाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीप्रति हार्दिक आभार प्रकट गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरूलाई प्रविधि र सीपको नविनतम विकासलाई आत्मसाथ गरी आगामी दिनमा समेत स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई निरन्तर लागि रहन निर्देशन दिए ।

उनले देशमा आईपरेको विपद् तथा महामारीको समयमा अस्पतालले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै अस्पतालमा सेवा लिन आउने आम सर्वसाधारण तथा विपन्न वर्गका परिवारका लागि नेपाल सरकारबाट उपलब्ध हुने सम्पूर्ण उपचारका सेवाहरू प्रदान गर्न सदैव अग्रसर रहनुपर्ने बताए ।