काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा ‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २०औं स्थापना दिवस’ तथा ‘दोस्रो एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फूटबल प्रतियोगिता २०८१’को समापन भएको छ ।
महानिरीक्षक अर्यालले स्थापना दिवसको अवसरमा नेपाल एपीएफ स्कूल कीर्तिपुरलाई सहयोग पुर्याउने महानुभाव तथा संघसंस्थाहरूलाई कदरपत्र प्रदान गर्नुका साथै सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फूटबल प्रतियोगिताको उपाधि जित्न सफल नेपाल एपीएफ स्कूल कीर्तिपुर तथा उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा नेपाल एपीएफ स्कूल कीर्तिपुरले सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई ५–० गोलको अन्तरले पराजित गरी विजयी भएको छ ।
महानिरीक्षक अर्यालले स्थापना दिवसले विद्यालय व्यवस्थापन समिती, शिक्षक, शिक्षिका तथा छात्रछात्रामा थप हौसला र ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक अवस्थालाई गति र रफ्तारमा ल्याउनको लागि विद्यालय परिवार, अभिभावक, सहयोगी संघसंस्था लगायत सबैमा हार्दिक आभार प्रकट गरे ।
उनले विद्यालयले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीहरूले आफ्नो भाग्य रेखा कोर्नसक्छ भन्ने कुरालाई आत्मसाथ गरी आयोजना गर्दै आइरहेको खेलकुद प्रतियोगिताले विद्यार्थीको शारिरीक, मानसिक, सामाजिक र व्यावसायिक जीवनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
महानिरीक्षक अर्यालले विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षाको गुणस्तरलाई अन्य विद्यालयभन्दा फरक तवरबाट अगाडी बढाउँदै लैजानुपर्ने बताउँदै नेपाल एपीएफ स्कूल नेपालकै उत्कृष्ट विद्यालयभित्र पर्ने गरी शिक्षण कार्यलाई समयानुकूल परिमार्जन र वैज्ञानिक ढंगले अगाडि बढाउनुपर्ने बताए ।

विद्या व्यक्तिको आभूषण र नैतिक व्यक्तिको शक्ति हो भन्ने कुरालाई मध्यनजर गर्दै नैतिक शिक्षालाई विद्यालय तहबाट अध्यापन अभ्यास गराउनेतर्फ विद्यालय परिवार तथा शिक्षक शिक्षिकामा ध्यान जान आवश्यक रहेको बताउँदै उनले आजको अवस्थामा युवामा देखिएको लागूऔषध दुव्र्यसनीको समस्या व्यक्ति, परिवार र समाजमा मात्र नभई सम्पूर्ण राज्यलाई नै पर्ने असरहरूबारे विद्यालय तहबाट प्रशिक्षित गराउन आवश्यक रहेको बताए ।
महानिरीक्षक अर्यालले संगठनले विद्यालयलाई दिनुपर्ने साथ र सहयोगलाई कुनै पनि कसर बाँकी नराखेको तथा विद्यार्थीहरूलाई उचित शिक्षा दिने कार्यमा समेत संगठनले कुनै पनि सम्झौता नराखेको बताउँदै अभिभावक वर्गले आफ्ना सन्ततीहरूबारे विशेष चासो राखी विद्यालयलाई आवश्यक सुझाव, सल्लाह, पृष्ठपोषण उपलब्ध गराई आवश्यक सहयोग र सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल लगायत स्थानीय भद्रभलादमी, अभिभावक तथा सञ्चारकर्मीको समेत उपस्थिति थियो ।




प्रतिक्रिया