काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) को रूपमा कार्य गर्न जाने १२औं डफ्फाको आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिदाइ गरेका छन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशन वान जुवामा कार्यरत ११आंै डफ्फालाई बदली गर्न जान लागेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई बिदाइ गर्दै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।
उनले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठूलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरूले अनुशासित एवं सामूहिक भावनाका साथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरू संयुक्त राष्ट्रसंघीय मिसनमा संगठन र राज्यको प्रतिनिधित्व गर्दै परिचालन हुने हुँदा विभिन्न देशका सुरक्षाकर्मीहरूसँग आपसी समन्वय तथा सहकार्य गरी कुशलतापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग, ऊर्जा समर्पण र ज्येष्ठताको समेत मूल्यांकनको फलस्वरूप एफपीयू मिसनमा छनोट भएको बताए । मिसनमा खटिएर जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूले समेत शुभकामनासहित बिदाइ गरेका छन् ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिसनअन्तर्गत सन् २०१६ मा पहिलोपटक लाइबेरियामा खटिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १८० जना सशस्त्र प्रहरी कर्मचारीहरू कार्यरत छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जरसिंह बुढासहित १८० जना सशस्त्र प्रहरी कर्मचारीहरू बैशाख २३ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।




प्रतिक्रिया