पोखरा – गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ ।
पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए ।
फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जीत निकाल्दै उपाधि चुमेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात यो नै ह्याण्ड बलको सबैभन्दा ठूलो प्रतियोगिता हो । उपाधिसँगै एपीएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपीएफले कोशी प्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । आर्मीले गण्डकीलाई २१–१२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्यो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।
असार १२ गतेदेखि १४ गतेसम्म चलेको प्रतियोगितामा कूल ८ टीमको सहभागिता थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागिता थियो । विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन् । एपीएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपीएफका सुशील अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद् गण्डकी रहेको छ भने सहप्रायोजकमा बुल्समेन क्लब र प्राविधिक सहयोगमा जिल्ला ह्याण्डबल संघ कास्की रहेको थियो ।
प्रतिक्रिया