सशस्त्र प्रहरीमा पहिरो : तीन महिनामा ७८६ को राजीनामा, २१० कारबाहीमा

सशस्त्र प्रहरीमा पहिरो : तीन महिनामा ७८६ को राजीनामा, २१० कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलमा कार्यरत विभिन्न तहका ७ सय ८६ सुरक्षाकर्मीले राजीनामा दिएका छन्।

गत वैशाखदेखि असारसम्म ७ सय ८६ जना प्रहरी कर्मचारीले राजीनामा दिँदा असारमा मात्र ५ सय २६ जनाले जागिर छाडेका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुराम पाण्डेका अनुसार वैशाखमा  एक सय, जेठमा एक सय ६० र असारमा पाँच सय २६ जनाले राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा तीन जना प्रहरी निरीक्षक, २७ जना प्रहरी नायव निरीक्षक, एकसय ३३ जना प्रहरी सहायक निरीक्षक र चार सय ६५ प्रहरी बरिष्ठ हवल्दार छन्। यसैगरी, ३१ जना प्रहरी हवल्दार, २२ जना प्रहरी सहायक हवल्दार, ९८ जना प्रहरी जवानले पनि राजीनामा दिएका छन्।

राजीनामा दिने धेरै जसो संगठनमा १६ वर्षसम्म काम गरेका रहेको बताइएको छ।

२ सय १० कारबाहीमा
यसैगरी, अनियमितता तथा अनुशासनविपरीतको गतिविधिमा संलग्न २ सय १० जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

६ जना सिनियर अधिकृत र ३९ जना जुनियर अधिकृत कारबाहीमा परेका छन्। ६ सिनियर अधिकृत मध्ये ३ जनाको बढुवा रोक्का गरिएको छ।
बिल्लेदार तथा जवान एक सय १ सय ६५ जना कारबाहीमा परेका छन्। जसमध्ये २ जनालाई जागिरबाट हटाइएको छ भने ३ जनाको घटुवा भएको छ।

तीन महिनमा ७  सय १४ जना प्रहरीको बढुवा गरिएको छ।हाल सशस्त्र प्रहरी बलमा ३७ हजार १ सय १७ जना सुरक्षाकर्मी कार्यरत छन्।