मधेशमा प्रथम पूर्वसशस्त्र प्रहरी सम्मेलन, परिवारजनलाई पुरस्कार र सम्मान

मधेशमा प्रथम पूर्वसशस्त्र प्रहरी सम्मेलन, परिवारजनलाई पुरस्कार र सम्मान


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको २५औं वार्षिकोत्सव तथा रजत महोत्वसको अवसर पारेर नेपाल पूर्वसशस्त्र प्रहरी संघले मधेश प्रदेशमा प्रथम पूर्वसशस्त्र प्रहरी सम्मेलन २०८२ तथा १८औं साधारण सभाको आयोजना गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा पुस १४ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्मेलन तथा साधारण सभाका आयोजना गरिएको हो ।

महानिरीक्षक अर्यालले ज्येष्ठ सदस्य, वीरगती प्राप्त अमर सशस्त्र प्रहरीका परिवारजन तथा सशस्त्र प्रहरी उपचार सहायता तथा राहत कोषमा रकम प्रदान गर्नेहरूलाई समेत नगर पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।

महानिरीक्षक अर्यालले सेवामा कार्यरत रही कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राण उत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै घाइते तथा अंगभंग भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूप्रति शीघ्र स्वास्थ्य लाभको समेत कामना गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालमा सेवारत रही आफ्नो ऊर्जाशील कालखण्डलाई राष्ट्रको सेवा र शान्ति सुरक्षा तथा मातृभूमिको रक्षामा समर्पण गरी स–सम्मानपूर्वक अवकाश भएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई एकजुट हुन यस्ता कार्यक्रम अति नै महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाल पूर्व सशस्त्र प्रहरी संघले गर्दै आइरहेको कार्यहरू समेत सराहनीय रहेको बताए ।

महानिरीक्षक अर्यालले सेवाको कालखण्डमा अनुभव गरेका ज्ञान र सीपलाई संगठनका हित, प्रतिष्ठा र भावी पुस्ताको मार्गदर्शकको लागि नेपाल पूर्व सशस्त्र प्रहरी संघको नेतृत्व, पदाधिकारी र सदस्यहरूको क्रियाशीलताको मुक्तकण्ठले प्रशंसा गर्दै पूर्वअग्रजहरूको अनुभव, सल्लाह र सकारात्मक सुझावले सशस्त्र प्रहरी कर्मचारीहरूलाई मात्र नभई सिंगो संगठनलाई जिम्मेवार, उत्तरदायी र प्रतिवद्ध गराई अगाडि बढ्न सहयोग पुगेको बताए ।

सेवामा प्रवेश गरिसकेपछि १ दिन अनिवार्य अवकाश हुनैपर्छ, त्यसैले अवकाशपश्चात देश तथा विदेशमा रहेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई एकसुत्रमा बाँध्ने, एकता कायम गर्ने, विगतमा भएका कामकारवाहीलाई भविष्यमा समेत नयाँ सोच र सकारात्मक भावनाकासाथ परिवर्तन गर्दै जानु पर्ने कुरामा महानिरीक्षक अर्यालले जोड दिए ।

उनले सशस्त्र प्रहरी बल नेपालका सबै बाहिनी मुख्यालय अन्तर्गत रहेका अस्पतालहरूमा अझ बढी साधनस्रोत, जनशक्ति र उपकरणको व्यवस्था गरी अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई समेत उपचारको व्यवस्था मिलाउनुका साथै सहुलियत ऋण प्रवाह, सन्ततिहरूलाई एपीएफ स्कूल तथा कलेजहरूमा थप कोटा वृद्धि र वीरगति प्राप्त आश्रित परिवारलाई जीवन निर्वाहमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले धनुषा र सर्लाहीका मानव सेवा आश्रम सञ्चालकहरू रिता पोख्रेल र विवेक महतोलाई ५०–५० थान ट्याक्सुट समेत हस्तान्तरण गरेका छन् ।

नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूप्रति लक्षित गरी संगठनले लिएको विभिन्न कल्याणकारी तथा अन्य कार्यक्रमप्रति हार्दिक धन्यवाद दिँदै यस्ता कार्यक्रमले सम्पूर्ण अवकाशप्राप्त कर्मचारीमा हौसला वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

उनले अवकाशपश्चात देशविदेशमा छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारीहरू एकजुट भई देश र संगठनलाई आवश्यक परेको समयमा सेवारत रहँदाका अनुभवहरूलाई समेटी थप जनशक्तिको रूपमा कार्य गर्न तयार रहेको बताउँदै यस्ता कार्यक्रम क्रमश: सबै प्रदेशमा सञ्चालन गर्दै जाने बताए ।

कार्यक्रममा नेपाल पूर्व सशस्त्र प्रहरी संघका पूर्वसल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले उच्च मनोबलका साथ सेवामा प्रवेश गरी अवकाश प्राप्त गरेका सम्पूूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई संगठनलाई आवश्यक परेको बखत एकजुट भएर लाग्नुपर्ने बताए ।

संघका वरिष्ठ उपाध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सुवोध कुमार अधिकारीले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूमा ‘म होइन हामी’ भन्ने भावना लिई देश र संगठनलाई आवश्यक परेको समयमा एकजुट हुने र संगठनको लागि कार्य गर्ने कुरामा जोड दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले अवकाशपश्चात देशभर छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई एकजुट हुन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने र अवकाशप्राप्त कर्मचारीहरूलाई एकताबद्ध भई संगठनको हित र प्रगतिको लागि सकारात्मक तथा रचनात्मक सहयोग गरिरहनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा संघका महासचिव अवकाश प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रेमराज पोख्रलले संघको वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ र ३ बाहिनी मुख्यालयका बाहिनीपतिहरू, तालिम केन्द्रका समादेशकहरू, गणपति लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको समेत उपस्थिति थियो ।