निर्वाचन सुरक्षामा कमी नगरी खटिन सशस्त्रका आईजीपी अर्यालको निर्देशन

निर्वाचन सुरक्षामा कमी नगरी खटिन सशस्त्रका आईजीपी अर्यालको निर्देशन


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमी–कमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई उनले निर्देशन दिए ।

महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन उनले निर्देशन दिए । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारवाही गर्ने बताउँदै उनले उच्च मनोबलकासाथ काम गर्न निर्देशन दिए ।

उनले कमाण्डको जिम्मेवारीमा खटिजान लागेका सशस्त्र प्रहरी अधिकृतहरूलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिँदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारवाही गरिने बताउँदै निर्वाचन सफल बनाउन मातहत कर्मचारीहरूलाई निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गरी परिचालित हुन निर्देशन दिए ।

महानिरीक्षक अर्यालले संगठनले लिएको सोच र नीति अनुसार कार्यक्षेत्रमा खटिदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालिन हुनुपर्ने बताउँदै राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाईहरूले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचारमा शून्य सहनशीलताकासाथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अप्रेसनल कामकारवाही सञ्चालन गर्न समेत निर्देशन दिए ।