चुनावी सुरक्षाको अनुगमन गर्न सुदूरपश्चिम भ्रमणमा सशस्त्रका एआईजी दाहाल

चुनावी सुरक्षाको अनुगमन गर्न सुदूरपश्चिम भ्रमणमा सशस्त्रका एआईजी दाहाल


काठमाण्डु – निर्वाचन लक्षित सुरक्षा तयारी तथा अनुगमनको लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लामा पुगेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीहरू निर्वाचन क्षेत्रमा परिचालित भइरहेका छन् ।

एआईजी दाहालले निर्वाचन लक्षित सुरक्षा अनुगमनका क्रममा बुधबार डोटी र डडेल्धुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका निमित्त बाहिनीपति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् ।

उनले दार्चुला, डोटी, बझाङ, बाजुरा, बैतडी, अछाम जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग निर्वाचन सुरक्षा तयारी, बन्दोबस्ती तथा वस्तुस्थितिबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षार्थ त्रुटिरहित ढंगबाट कार्य गर्न समेत निर्देशन दिए ।