शक्तिकेन्द्र रिझाउन सशस्त्रमा फेरी एआईजीको दबरन्दी थप्न लविङ

शक्तिकेन्द्र रिझाउन सशस्त्रमा फेरी एआईजीको दबरन्दी थप्न लविङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरीमा फेरी एआईजीको दरबन्दी थपको लागी लविङ सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एआईजीको दरबन्दी थपको लागी लविङ सुरु गरेका हुन ।

हाल सशस्त्र प्रहरीमा दुई जना एआईजीको दरबन्दी रहेको छ । सशस्त्रमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् भने नारायणबावु थापाले अवकास पाएसंगै उनको दरबन्दी पनि फाजिलमा गइसकेको छ ।

नेपाल प्रहरीमा एआईजीको दरबन्दी बढाउने तयारी भएसंगै खनाल समेत दरबन्दी बढाउन लविङमा लागेका हुन । खनालले पुसमा अवकास पाउन लागेका डिआईजीहरु मन्दीप श्रेष्ठ र खड्क राईलाई बढुवा दिने पक्षमा छन् । त्यसमध्ये उनले श्रेष्ठलाई आफ्नो सचिवालयमा सरुवा गरिसकेका छन् । खनाल आफुपछीसम्मको आईजिपीको बाटो किलियर गर्नेमा छन् ।

उनले आफुपछि अहिलेकै अवस्थामा डिआईजी नारायणदत्त पौडेललाई सशस्त्रको नेतृत्व हस्तान्तरण गर्न चाहेका छन् । तर, उनि वरियतामा दोस्रो नम्बरमा छन् । वरियतामा एक नम्बरमा डिआईजी राजु अर्याल छन् । उनलाई पाखा लगाएर पौडेललाई आईजिपी बनाउन सजिलो नभएपछि खनाल दरबन्दी थपको खेलमा लागेका हुन ।

यसबारेमा खनालको धारणा बुझ्न पटक पटक टेलिफोन गर्दा उनि सम्र्पकमा आउंन चाहेनन् ।

यसै वर्ष अवकासमा जान लागेका खनालविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । अख्तियारले त्यसमा छानविन समेत गरिरहेको छ । अवकासपछी पनि आफु फन्दामा पर्न सक्ने भएकाले उनले त्यो मुद्दालाई तामेलिमा पठाउन जोडतोडले लागिरहेका छन् ।

सशस्त्र स्रोतले दिएको जानकारीअनुसार खनालले सशस्त्रको बढुवा सरुवामा समेत आर्थिक लाभ लिने गरेका छन् । त्यसका साथै संगठनको बजेटमा समेत उनले अनियमितता गर्ने गरेका छन् । अख्तियारमा समेत त्यसै विषयलाई लिएर उजुरी परेको हो ।

खनालले अख्तियार प्रमुख प्रेम राईलाई रिझाउन दरबन्दी थप्ने लविङमा लागेको बताइन्छ । बढुवाको लाईनमा रहेका डिआईजी राईको अख्तियार प्रमुखसंग निकट सम्बन्ध भएकै कारण उनले दरबन्दी थप गरेर भएपनि बढुवा गर्न खोजेको स्रोतको दावी छ । तर, राईले भने उनको बढुवा वा दरबन्दी थपको लागी कुनै दबाव नदिएको स्रोतको दावी छ ।

खनालले दरबन्दी थपका लागी गृहमन्त्री बालकृष्ण खांड र गृहसचिव टेकनारायण पाण्डेदेखी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग छलफल गरिसकेका छन् ।

सशस्त्रमा एआईजीको दरबन्दी थप भएको अवस्थामा खनालपछि राई वा श्रेष्ठ सशस्त्र प्रहरी महानिरीक्षक बन्ने लाईनमा हुनेछन् । नभए उनिहरु डीआईजीबाट अवकासमा जानेछन् । सुरक्षा निकायमा व्यक्तिलाई हेरेर भन्दा आवश्यकतालाई ध्यानमा राखेर दरबन्दी बढाउन र घटाउनुपर्ने आवाज सशस्त्रभित्र उठेको छ ।

‘कुनै व्यक्तिलाई संगठन प्रमुख बनाउन र कसैलाई रोक्न दरबन्दी थपघट गर्नुहुंदैन ।दरबन्दी थप्ने कुरा व्यापक अध्ययन गरेर संगठनको आवश्यकतालाई ध्यानमा राखेर गर्नुपर्छ ।’ सशस्त्र प्रहरीका एक उच्च अधिकृतले भने ।

दरबन्दी थप भएको अवस्थामा समेत राई र श्रेष्ठसंगै डिआईजीहरु राजु अर्याल र नारायणदत्त पौडेल समेत बढुवाको लागी प्रतिस्पर्धी हुन । तर,वरियतामा भने उनिहरु पछाडी छन् ।