सशस्त्रमा दुई एआईजीको पदावधी सकिंदै, एक वर्ष थप्न आईजिपी खनाल अनिच्छुक


काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सशस्त्र प्रहरीमा एआईजीहरुको पदावधी थप्न अनिच्छुक देखिएका छन् । उनकै ब्याचका एआईजीहरु पुष्पराम केसी र रामशरण पौडेलको एआईजीको ४ वर्षे पदावधी आगामी वैशाख २० मा सकिदैंछ ।

सशस्त्रमा एआईजीको पदावधी ४ वर्षको हुने गर्छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ । यसअघि सशस्त्रका दुई डिआईजीहरु मन्दिप श्रेष्ठ र खड्क राईको समेत पदावधी थप भएको थियो ।

सशस्त्र स्रोतले दिएको जानकारीअनुसार प्रहरी महानिरीक्षक खनालले दुवै जना एआईजीको पदावधी नथप्न लविङमा लागेका छन् । खनाल लविङमा लागेसंगै एआईजी केसी र पौडेलले पनि गृह नेतृत्वसंग भेटेर आफ्नो समस्या राखेको स्रोतले जानकारी दियो ।

‘आईजीपी खनालले अहिलेसम्म प्रक्रिया अघि नबढाउनु र आफुलाई काम गर्न असहज भएको भन्दै पदावधी रोक्न आफै हिड्नुले उनको नियत स्पष्ट भएको छ ।’ सशस्त्रका एक अधिकारीले काठमाण्डुपाटीलाई भने ।

एआईजी केसी र पौडेलको एक वर्ष पदावधी थप नभए रिक्त दुई जना एआईजीको ठाउंमा डिआईजीहरु मन्दिप श्रेष्ठ, खड्क राई र प्रविण श्रेष्ठमध्ये दुई जनाले एआईजी हुने अवसर पाउनेछन् । श्रेष्ठ,राई र मन्दिपसंगै पछिल्लो ब्याचका डिआईजी राजु अर्याल पनि एआईजीको प्रतिस्पर्धामा हुनेछन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सिफारीसमा आईजीपी भएका खनालको ४ वर्षे कार्यकाल २०७८ चैत्त २८ मा अवकास पाउंदैछन् । उनि एसएसपी हुंदासम्म एआईजी केसीभन्दा पछि भएपनि डिआईजी र एआईजीमा भने उनिभन्दा अघि बढुवा भएका थिए ।

खनालको कार्याकालमा सशस्त्रमा भ्रष्ट्राचार बढेको, संगठनमा आफु निकटकालाई मात्र अवसर दिएको र आफ्ना विरोधीमाथी पुर्वाग्रह सांधेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement