काठमाडौं– सशस्त्र प्रहरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनपछि थप ८ हजार ३ सय ८३ जना सुरक्षाकर्मीलाई सिमा क्षेत्रमा तैनाथ गरेको छ । गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले गृहमन्त्रीको निर्देशनपछि सिमा क्षेत्रमा सशस्त्रले थप जनशक्ति व्यवस्थापन गरेको जानकारी दिए । सिमा क्षेत्रका जिल्लामा यसअघिनै सशस्त्रको १४ हजार २६३ जनशक्ति रहेकाेमा अहिले थप ८ हजार ३८३ थप पछि २२ हजार ६४६ पुगेकाे छ ।
सशस्त्रले नम्बर १ बाहिनी मुख्यालय सुनसरीबाट १५ सय ४९, नम्बर २ बाहिनी छिन्नमस्ता बाहिनी महोत्तरीबाट ३ हजार २ सय ६२, नम्बर ३ गढीमाई बाहिनी मकवानपुरबाट १९ जना, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीबाट १८ जना, नम्बर ५ विन्ध्यावासिनी रुपन्देहीबाट २४ सय २० र नम्बर ७ वैधानाथ बाहिनी कैलालीबाट ११ सय १५ जना खटाएको छ ।
कोरोनाको संक्रमण लगत्तै यसअघि नै पाँच हजार जनशक्ति सिमामा थप गरिएकोमा बैशाख १ गते गृहमन्त्रीले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सिमामा खटाउन निर्देशन दिएपछि हिमाली, पहाडी र हेडक्वार्टरका गरि थप करिब ३ हजार जनशक्ति सिमामा पठाउन लागिएको हो । यस्तै यसअघि सिमाक्षेत्रमा ८७ बिओपी मात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ’बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठुलो संख्या थप गरि १२० र्पुयाइएको छ ।
गृहमन्त्रीको निर्देशनपछि नियमविपरित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता बोलाउने तयारी सुरु भएको छ । गत विहिवार नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल गृहसचिवमार्फत नियमविपरित खटाइएकालाई तुरुन्त फिर्ता बोलाएर सिमा क्षेत्रमा तैनाथ गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।
यो पनि पढ्नुहोस्-
भिआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कटौति गरेर सिमा क्षेत्रमा खटाउने तयारी




प्रतिक्रिया