काठमाण्डु – सशस्त्र प्रहरीमा तीन जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले बिहिवार सांझ एसएसपीहरु कृष्ण ढकाल, दिपेन्द्र कुंवर र विष्णु प्रसाद भट्टको नाम डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
एसएसपीहरुको वरियतामा अघि रहेका एसएसपीहरु मनिष थापा र प्रविण कंडेललाई बढुवामा छुटाइएको छ । एसएसपी थापा सिसम १ र कंडेल नेपाल प्रहरीबाट स्थान्तरण भएका आएका अधिकृत हुन् । बढुवामा एसएसपी कृष्णराज पाठक र विनोद श्रेष्ठ पनि छुटेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजी ज्वाँई एसएसपी कुंवर दुई नम्बरमा बढुवामा सिफारिस भएका छन् । एसएसपी बढुवा हुंदा उनि नियम संशोधन (सशस्त्र प्रहरी नियमावली, २०७२) गरेर नै ९९ नम्बरबाट सिधै एक नम्बरमा बढुवा भएका थिए ।
अहिले पनि कुंवरले आफ्नो ब्याचबाट एकल बढुवा हुन निकै प्रयास गरेका थिए । तर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले त्यसमा कडा अडान लिएको गृह स्रोतले बतायो । उनको ब्याचबाट एसएसपी विष्णु भट्ट पनि डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
कुंवरलाई एकल बढुवा गर्न कांग्रेस नेतृत्वको चर्को दबाब थियो । तर, त्यही दबाबका कारण सशस्त्रको बढुवा भदौदेखि रोकिएको थियो । कुंवरलाई एक नम्बरमा डीआईजीमा बढुवा गरेर आईजीका लागि बाटो किलियर गर्नकै लागि उनको एकल बढुवा प्रयास भएको हो ।
तर, त्यसमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कडा अडान लिएपछि खेल तुहिएको थियो । अर्यालले ब्याच नै उछिनेर कुंवरलाई बढुवा गर्न नसकिने स्पष्ट सन्देश गृह नेतृत्वलाई दिएका थिए ।
कुंवरका कारण लामो समय सशस्त्रमा बढुवा रोकिएको भन्दै त्यही विषयलाई लिएर संसदमा समेत रास्वपा सांसद मनिष झाले प्रश्न उठाएका थिए । कुवंर तीन वर्षदेखि सशस्त्रको सबैभन्दा आकर्षक मानिने प्रबन्ध महाशाखाको प्रमुख छन् ।




प्रतिक्रिया