काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने बताएका छन् । ‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को आइतबार सशस्त्र मुख्यालय हलचोकमा उदघाट्न गर्दै मन्त्री शर्माले उक्त धारणा राखेका हुन । गृहमन्त्री शर्माले सशस्त्रलाई संघीय संरचनामा कसरी परिचालन गर्ने भन्नेबारे गृहकार्य भइरहेको समेत बताए ।
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले संघीय संरचनामा जादा सशस्त्रको भुमीका प्रहरीजस्तो नहुने बताए । उनले सशस्त्रको प्रदेश संरचना बनेपनि भुमिका भने फरक हुने दाबी गरे ।
गृहमन्त्री शर्माले सशस्त्र प्रहरी बल नेपालले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यदेखि विपद् व्यवस्थापन, सीमा तथा औद्योगिक क्षेत्रको सुरक्षा लगायत राज्यले सुम्पेको कार्यादेश र उद्देश्यमा आधारित रहि जनता र राष्ट्रप्रति उत्तरदायी भएर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
सरकारले बलमा कार्यरत कर्मचारीको सेवा सुविधा बढाउन विभिन्न योजना निर्माण गरिरहेको पनि मन्त्री शर्माले जानकारी दिए । उनले राहत तथा उद्धारका साथै केही समयअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा सशस्त्रले खेलेको भुमिका सराहनीय भएको बताए ।
शर्माले नितीगत समस्या हल गर्न गृहमन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको जानकारी समेत दिए ।

राज्यले दिएको जिम्मेवारी पुरा गर्न सधैं तयार छौः महानिरीक्षक श्रेष्ठ
सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा सुरक्षा चुनौती र सशस्त्र प्रहरी बल नेपालको भूमिका, संगठनमा संचालित तालिम लगायतका विविध विषयहरुमा विस्तृत अन्तरक्रिया एवं छलफल गरी ठोस कार्ययोजनाको साथ तार्किक र समयसापेक्ष निष्कर्षमा पुग्न सम्मेलन सफल रहने बताए ।
महानिरीक्षक श्रेष्ठले बदलिदो परिवेशमा सशस्त्र प्रहरी बल नेपालको भावी कार्यदिशा तय गर्न समेत वरिष्ठ अधिकृत तथा तालिम सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्र्दै शान्ति सुरक्षा एवं मानविय सेवामा अझै कर्तव्यनिष्ठ र स्पष्ट रहि राज्य प्रदत्त जिम्मेवारीलाई व्यावसायीक ढंगबाट सम्पादन गर्न समेत सम्मेलन उपलब्धिमूलक रहने विश्वास व्यक्त गरे ।
गृह प्रशासन सुधार मार्गचित्र २०७४ को सफल कार्यान्वयनबाट सशस्त्र प्रहरी बल नेपालको विशिष्टिकृत एवं आधुनिकिकरणमा टेवा पुग्नुका साथै संगठन अझै सवल र सुदृढ रुपमा विकास हुने उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले संगठनको व्यावसायीकता, क्षमता अभिबृद्धि र सांगठानिक विस्तारका लागि मजकुर मन्त्रालयबाट निरन्तर सद्भाव र निर्देशनको अपेक्षा गरेको बताए ।
कार्यक्रममा गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ, गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ र दुर्ज कुमार राई लगायत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृत एवं विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।
दुई दिवसीय उक्त सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालका देशभर रहेका बाहिनी तथा प्रशिक्षण केन्द्रका प्रमुखहरु लगायत प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरु सहभागी रहेका छन् ।




प्रतिक्रिया