काठमाडौँ – नेपाल र चीनले दुवै देशका सशस्त्र प्रहरीमार्फत अन्तरदेशीय सीमा अपराध, आतंकवाद नियन्त्रण र सीमा व्यवस्थापनका लागि ‘संयुक्त सुरक्षा अभ्यास’ गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा भएको समझदारीअनुरूप दुई देशका अर्धसैनिक बलबीच पहिलोपटक सुरक्षा अभ्यास गर्न लागिएको हो ।
सीको राजकीय भ्रमण क्रममा सीमा सुरक्षा र आतंकवाद नियन्त्रणका लागि कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सुरक्षा अभ्यास गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भ्रमणपछि दुवै देशका तर्फबाट जारी संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा पनि सीमा सुरक्षार्थ तैनाथ निकायबीच संयुक्त अभ्याससहित चीनले कानुन कार्यान्वयन गर्ने नेपालका निकायलाई ३ वर्षमा एक सयवटा तालिम प्रदान गर्ने, सुरक्षा सहायतालगायतमा सहयोग गर्ने उल्लेख छ ।
नेपालको सशस्त्र प्रहरी बल ९एपीएफ० र चीनको पिपुल्स आर्म्ड पुलिस फोर्स ९पीएपी० बीच सुरक्षा अभ्यासका लागि दुवै देशले संयुक्त कार्ययोजना बनाइने गृह मन्त्रालयका एक अधिकारीले बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण क्रममा भएको समझदारी कार्यान्वयन गर्न दुवै मुलुकबाट छिट्टै संयुक्त खाका बन्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘सीको भ्रमण क्रममा जारी संयुक्त वक्तव्य परराष्ट्र मन्त्रालयबाट औपचारिक रूपमा आएपछि सुरक्षा अभ्याससम्बन्धी कार्ययोजना बन्नेछ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।




प्रतिक्रिया