काठमाण्डु – सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप हुने भएको छ । नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय भएसंगै सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी थपका लागी प्रक्रिया अघि बढेको हो । तर, सशस्त्रमा एआईजीको दरबन्दी स्विकृत हुन भने केही समय लाग्नेछ । सशस्त्रमा एआईजीको दरबन्दी थप गर्ने विषयमा गृह र अर्थका उच्च अधिकारीहरु सहमत भइसकेका छन् ।
सशस्त्र प्रहरीले दरबन्दी थपका लागी ओएनम गर्न डीआईजी राजु अर्यालको संयोजकत्वमा समिति बनाएको छ । यसअघि समितिको संयोजक मन्दिप श्रेष्ठलाई बनाइएको थियो । तर, अन्तिममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनको नाम हटाएर अर्यालको नाम पठाएका हुन ।
सशस्त्रमा हाल कार्य र सीमा सुरक्षा विभाग र प्रशासन तथा मानव श्रोत गरी दुई विभाग छन् । जसमा सीमामा पुष्पराम केसी छन् भने प्रशासनमा रामशरण पौडेल छन् । सशस्त्रमा सीमा र कार्य विभाग अलग गर्ने तयारी छ ।
यसअघि २०७५ जेठमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सशस्त्रमा एआईजीको संख्या दुई वटा राख्ने निर्णय गरेको थियो । सरकारले उक्त निर्णय गर्दा सशस्त्रमा तीन एआईजी थिए । त्यो मध्ये एउटा दरबन्दी फाजिलमा थियो । तत्कालिन एआईजी नारायणबाबु थापाले ३० वर्षे सेवा अवधिका कारण अवकास पाएसंगै उक्त दरबन्दी खारेज भएको थियो ।
अर्यालको नेतृत्वमा समिति बनेको दुई साताभन्दा बढी भइसकेको छ । समितिले काम अघि बढाएपनि अहिले नै दरबन्दी थप्ने सम्भावना भने कम छ ।
सशस्त्रका डीआईजीहरु खड्गजीत राई र मन्दीप श्रेष्ठलाई एआईजी बनाउन दरबन्दी थपको प्रयास भएको थियो । तर, उनिहरु यही माघ २६ मा अनिवार्य अवकासमा जांदैछन् । श्रेष्ठ र राई एआईजी बन्ने सम्भावना लगभग सकिएको स्रोतको दावी छ । यद्यपी राईले राजनीतिक वृतमा दौडधुप भने गरिरहेका छन् ।
सशस्त्रमा डीआईजी बढुवाका लागी एक हप्ताको सुचना निकाल्नुपर्ने प्रावधान छ । अर्को साताको अन्मिततिर दरबन्दी नै स्विकृत भएको अवस्थामा बढुवा प्रक्रिया अघि बढाउंदा पनि उनिहरु एआईजी बन्ने सम्भावना देखिदैन । तर, त्यो बेलासम्म पनि दरबन्दी थप हुने सम्भावना कम छ ।
सुरक्षा निकायमा आवश्यकता भन्दा पनि आफु निकट अधिकारीहरुलाई बढुवा गर्न दरबन्दी थपको अभ्यास हुंदै आएको छ । तर, सशस्त्रमा भावी नेतृत्वका लागी पनि एआईजीको दरबन्दी थप्नुपर्ने अवस्था छ ।
हालका सशस्त्र प्रहरी महानिरीक्षक खनाल आगामी चैतमा पदावधिका कारण अवकास पाउंदैछन् । त्यसपछि करिव २० दिन उनकै ब्याचका एआईजी पुष्पराम केसी आईजीपी बन्ने सम्भावना छ । तर,महानिरीक्षक खनाल उनलाई रोक्न नियमावली संशोधनको खेलमा लागिसकेका छन् । खनाल र केसी यसअघि आईजिपी बन्ने प्रतिस्पर्धामा थिए । तर,अन्तिममा खनालले बाजी मारेका थिए । डिआईजीसम्म केसी नै वरियतामा अघि थिए । एआईजी बढुवा हुंदा खनाललाई एकल बढुवा गरिएको थियो ।
आईजीपी खनाल डिआईजीहरु श्रेष्ठ र राईले अवकास पाएपछि एआईजीको दरबन्दी स्विकृत गराउने र त्यसमा एआईजीको बढुवा गराएर सिधै आफुपछि आईजीपी बनाउने खेलमा छन् । तर, केसीलाई २० दिन भएपनि संगठन प्रमुख बनाउनुपर्नेमा सशस्त्रभित्रकै उच्च अधिकारी छन् । उनि २० दिन आईजिपी बन्दा त्यसपछि बन्नेलाई त्यसले कुनै असर नगर्ने भएकाले पनि केसीलाई सम्मान दिनुपर्ने तर्क उनिहरुको छ ।
अहिले डिआईजी राजु अर्याल,नारायणदत्त पौडेल र सिपी गौतम थप हुने एआईजीको पदका लागी प्रतिस्पर्धामा छन् । उनिहरुमध्ये वरियतामा अर्याल एक नम्बरमा छन् । उनिहरुमध्ये जो एआईजी बढुवा भयो त्यही नै भविष्यमा आईजीपी बन्ने निश्चितजस्तै छ ।
खनालले आफ्नै ब्याचका एआईजी केसिलाई रोक्न मात्र होईन आफु र निकटकालाई पोस्नका लागी नियमावली संशोधनका लागी प्रक्रिया समेत अघि बढाएका छन् ।
सशस्त्रको लगभग चार वर्ष महानिरीक्षक बनेका खनालले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले छानविन गरिरहेको छ । तर, यति लामो समय महानिरीक्षक बनेका खनालले ३० वर्ष सेवाअवधी नपुग्ने भएपछि अवकासपछि धेरै तलब र सुविधा बुझ्न नियमावली संशोधनको प्रस्ताव गरिरहेका छन् । खनाल ३० वर्ष पुग्न २० दिन अघि अवकास पाउंदैछन् । सशस्त्रका डिआईजी नारायणदत्त पौडेलको संयोजकत्वमा उनले समिति निर्माण गरेका हुन ।
सशस्त्र प्रहरीमा बढुवाका लागी सशस्त्र प्रहरी नियमावली २०७२ को बढुवाको सूचना प्रकाशन गर्नुपर्ने जारी प्रावधान संशोधन गर्ने प्रस्ताव गरिएको छ । उक्त संशोधन डिएसपीदेखी नै प्रवन्ध शाखामा रहेका एसएसपी दिपेन्द्र शाहलाई बढुवा गर्नको लागी परिवर्तन गर्न खोजिएको स्रोतको दावी छ । हाल सशस्त्र प्रहरीमा एक जना डीआईजीको दरबन्दी रिक्त छ । खनाल अवकासअघि उनलाई डिआईजी बनाउने तयारी छ । तर, उनिभन्दा पहिला वरियतामा धेरै एसएसपी छन् ।
सशस्त्र प्रहरीमा एसपीबाट एसएसपी हुन ४ वर्ष अवधी पुगेको हुुनुपर्ने प्रावधान छ । तर खनालले त्यसलाई संशोधन गरेर ३ वर्ष बनाउने प्रस्ताव गरेका छन् । यसमा पनि उनले हाल कामु रहेका र वरियतामा ६ नम्बरमा रहेका कमलप्रसाद तिउसिनालाई एक नम्बरमा बढुवा गर्ने तयारी छ । ११ नम्बरमा रहेका दिपेन्द्र कुवंरलाई दुई नम्बर बढुवा गर्ने तयारी स्रोतको दावी छ । कामु एसएसपी तिउसेना खनालको सचिवालयमा कार्यरत छन् भने सशस्त्रको इण्टिलिजेन्समा कार्यरत कुवंर प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका ज्वाई हुन ।
खनालले आफु निकट अधिकारीलाई भविष्यमा महानिरीक्षक बन्ने लाइनमा राख्न खोज्नुका साथै शक्तिकेन्द्रलाई रिजाउन नियमावली संशोधनको खेलमा लागेको स्रोतको दावी छ । उनले अवकास पाउने दिन नजिक आउनै लाग्दा अहिले नै राजदूत नियुक्तीका लागी लविङमा लागेका छन् । खनालले त्यसका लागी माओवादी केन्द्र र कांग्रेसका नेताहरुको घरदैलो सुरु गरिसकेको स्रोत बताउंछ ।




प्रतिक्रिया