काठमाण्डु – श्रीमती हत्या आरोपमा पक्राउ परेका शसस्त्र प्रहरीका डिआईजी रञ्जन कोइरालाको सजाय कटौती भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सर्वस्वसहित जन्मकैदको सजायबाट घटाएर जन्मकैदको मात्र सजाय हुने भनि फैसला गरेको हो ।
त्यस्तै सर्वोच्चले पत्नी गीताको हत्या नभइ भवितव्यमा परी मृत्यु भएको बताएको छ । सर्वोच्च अदालतले जिल्ला र पुनरावेदन अदालतको फैसलाका कारण कोइरालाको सम्पत्ति रोक्का भएको भए फुकुवा गरिदिन भनेको छ ।
‘वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आइ उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखिन्छ,’ सर्वोच्चले फैसलामा उल्लेख गरेको छ, ‘उपरोक्त कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’
०६८ पुस २७ गते श्रीमती हत्या अभियोगमा कोइरालालाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सोहीअनुसार सजाय काटिरहेका उनलाई प्रधानन्याधीश जबरा र न्यायाधीश केसीको इजलासले ८ वर्ष ६ महिना जेल बस्दा पुग्ने फैसला गरेको हो ।
कोइरालाले बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङ जंगलमा लगेर पेट्रोल छर्केर जलाएका थिए ।
७ वैशाख २०७१ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश महम्द जुनैद आजादको इजलाशले उनलाई श्रीमतीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो ।
त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए । पुनरावेदन अदालत पाटनका तत्कालीन मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराई र न्यायाधीश लेखनाथ घिमिरेको इजलाशले ०७२ मंसिर २३ गते कोइरालाको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको थियो ।
कोइराला ०६८ माघ ८ गतेबाट हालसम्म थुनामै रहेकाले सर्वोच्चको फैसलापछि उनको सजाय साउन ७ गते सकिनेछ ।




प्रतिक्रिया