अपूर्व क्षितिज पक्राउ प्रकरण : के थियो घटना ?


काठमाण्डु – कमेडियन अपूर्व क्षितिज सिंह रिहा भएका छन् । काठमाण्डु जिल्ला अदालतको आदेशपछि उनी बिहीबार २ लाख ५० हजार धरौटीमा रिहा भएका हुन् ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले यो मुद्दा आफुले जसरी पनि जितेर छोड्ने बताएका छन् । यो आफ्नो मात्र मुद्दा नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि भएको समेत उनले जनाएका छन् ।

सिंहमाथि जातीय भेदभाव तथा अपमानजनक व्यवहार गर्न नहुने, अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने, सामाजिक रीतिस्थितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको आरोप लगाइएको छ ।

के थियो घटना ?

अपूर्व क्षितिज सिंह स्ट्याण्डअप कमेडियन हुन् । उनले गत असार ३१ गते बत्तीसपुतलीको ग्रासिया सेन्टरमा एक स्ट्याण्डअप कमेडी शो गर्ने क्रममा नेवार समुदायको धर्म र परम्पराबारे कमेडी गरेका थिए ।

असार ३१ गते भएको कमेडीको भिडियो अपूर्वले भदौ १० गते आफ्नै युट्युबमा अपलोड गरेका थिए । नेवारको परम्परा शीर्षकको उक्त भिडियोमा अपूर्वले नेवार समुदाय, उनीहरुको धर्म तथा परम्पराप्रति केही आपत्तिजनक शब्द प्रयोग गरेका थिए । जुन कुरा अपूर्वले बयानमा पनि स्वीकार गरेका छन् ।

तर भदौ १० गते युट्युवमा अपलोड भएको उक्त भिडियोका विषयमा व्यापक आलोचना भएपछि अपूर्वले भदौ ११ गते नै उक्त भिडियो युट्युबबाट डिलिट गरेका थिए । साथै अपूर्वले सामाजिक सञ्जालबाटै नेवार समुदायको भावनामा चोट पुगेको भन्दै माफी मागेका थिए ।

तर अपूर्वको कमेडीबाट नेवाः समुदायको अपमान भएको भन्दै नेवा समुदायका युवाहरु आक्रोशित बनेका थिए । त्यसमा सुमन सायमीको समेत नाम जोडिएको थियो ।

अपूर्व क्षितिज सिंहले गल्ती स्वीकार्दै माफी मागे पनि उनलाई नछाड्ने अडानमा रहेका नेवाः समुदायका तर्फबाट पृथबिन्दु महर्जन लगायतका १०१ जना युवाले प्रहरीमा जातीय भेदभाव तथा छुवाछुत लगायतका चारवटा कसुरमा निवेदन दिए ।

अनि त्यही निवेदनका आधारमा प्रहरीले अपूर्वलाई पक्राउ गरी विभिन्न चार वटा मुद्दा चलाएको थियो । हाल उनी धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement