नेपालले मौसमी संकटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री डा. राणा

नेपालले मौसमी संकटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री डा. राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताएकी छिन् । नेपाल रिपब्लिक मिडियाद्वारा आज आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गरिन् ।

परराष्ट्रमन्त्री डा. देउवाले भनिन्, “कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाहरूले विकासोन्मुख र पर्वतीय राष्ट्रहरूको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।”

उनले जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताइन् । अजरबैजानको बाकुमा हुने आगामी जलवायु सम्मेलन कोप–२९ मा जलवायु जोखिममा रहेका राष्ट्र, पर्वतीय राष्ट्रका आवश्यकता र प्राथमिकता तथा प्रभावकारी सहभागिताको तयारी भइरहेको उनको भनाइ थियो ।

“नेपालजस्ता राष्ट्रहरू जुन वैश्विक हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्छन्, ती जलवायु विपत्तिको सिकार हुनु गम्भीर अन्यायको विषय हो ।” उनले भनिन्, “जलवायु सङ्कट निम्त्याउने कार्य गर्ने विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रहरूलाई अनुकूलन र लचिलोपन निर्माणका लागि पर्याप्त स्रोत, प्रविधि र अन्य सहयोग प्रदान गर्नुपर्छ ।”

उनले उक्त संवाद कोभिड–१९ महामारीलगायत कारण स्थगित गर्नुपरेको र अब सन् २०२५ मा आयोजना गर्ने तयारीमा रहेको जानकारी गराइन् ।