नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा

नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज–नयाँदिल्ली सिधा उडान सुरु गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

बाँके र बर्दियाका सांसद, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले उक्त उडानलाई प्राथमिकतामा राखिदिन आग्रह गरेपछि मन्त्री राणाले यसलाई नेपाल–भारतबीचको पारस्परिक लाभ र कनेक्टिभिटी वृद्धि गर्ने महत्वपूर्ण परियोजना भन्दै समर्थन जनाइन्।

उनका अनुसार, सिधा उडान सुरु भएपछि पश्चिम नेपालको पर्यटन, व्यापार, उद्योग र जनसम्पर्कमा उल्लेखनीय वृद्धि हुनेछ।

नेपालगञ्जमा होटल लगायतका आवश्यक पर्यटन पूर्वाधार तयार भइसकेको उल्लेख गर्दै उनले यो योजना पश्चिम क्षेत्रको अर्थतन्त्रको रूपान्तरणमा मद्दत गर्ने बताइन्।

सर्वपक्षीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यो विषयलाई प्राथमिक एजेण्डा बनाउन आग्रह गरेको थियो।

उनीहरूले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’का रूपमा विकसित गर्नका लागि यो उडान अपरिहार्य भएको र यसबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने दाबी गरे।

साथै, नेपालगञ्ज विमानस्थलले प्रतिघण्टा ६०० यात्रुलाई सेवा दिन सक्ने र आवश्यक सबै पूर्वाधार तयार भएको जानकारी पनि गराइयो।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ ।