काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले २४औं सशस्त्र प्रहरी दिवसका अवसरमा १८ जनाको विशेष बढुवा गरेको छ ।
सशस्त्रले १५ जना खेलाडी, २ जना विपद् उद्धारक र १ जना कला संस्कृतितर्फका कर्मचारीको विशेष बढुवा गरेको छ ।
विशेष बढुवा हुनेमा ४ जना महिला फूटबलर र क्रिकेटर सन्दीप जोरा रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । राष्ट्रिय टोलीमा समेत नियमित सदस्य रहेका अनिता केसी, गीता राना, सरु लिम्बु र भगवती थापा बढुवा भएका हुन् । थापा वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् भने अन्य ३ जना फूटबलर र क्रिकेटर जोरा जवानबाट सहायक हवल्दारमा बढुवा भएका छन् ।
सशस्त्रले धावक फुलमती राना र गोपिचन्द पार्की हवल्दारमा बढुवा गरेको छ । भलिबल टोलीका हिरा केसी र कविता भट्ट, उसुका अशोक खालिङ र कविता थापा, ह्याण्ड बलकी बन्दना राई, कराँतेका महमद शेखुआलम र सञ्जय राई र कवड्डिकी रविना चौधरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
नेपाली कला संस्कृति जगेर्नामा महत्त्वपूर्ण योगदान गरेकोमा सशस्त्रले सीताराम रानालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको छ । विपद् उद्धारतर्फ कहलसिंह विक र कमर गुरुङ सहायक हवल्दारमा बढुवा भएका सशस्त्रले जनाएको छ ।




प्रतिक्रिया