काठमाण्डु – बर्खा सुरु भएसँगै सशस्त्र प्रहरी बल नेपालले २४ घण्टै परिचालन हुने गरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ ।
बाढी, पहिरो र डुबानमा परेकाहरूको तत्कालै उद्धारको लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुनको नफ्रिमा टोली गठन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
टोलीमा विपद् व्यवस्थापन तालिम गरेका कर्मचारीहरू रहेका छन् । गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन तथा अन्य युनिटहरूमा १ सेक्सनको नफ्रिमा मनसुन प्रतिकार्य टोली गठन गरिएको छ ।
प्रदेशस्थित सबै बाहिनी र उपत्यकाको पशुपतिनाथ बाहिनीमा तत्काल परिचालन गर्ने गरी ३ प्लाटुन जनशक्ति तयारी अवस्थामा राखिएको सहप्रवक्ता थापाले जानकारी दिए । सबै बाहिनीबाट ५० वटा टोली हाल विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका कार्यालयमा रहेका हेभि इक्युमेन्टहरू, डिजास्टर रिलिफ सिष्टम कन्टेनर र मास क्याज्यूल्टी भेहिकल समेत तयारी अवस्थामा राखिएका छन् । बाढी, पहिरो, डुबानका घटनालाई लक्षित गरी सबै बाहिनी मुख्यालयहरूले मनसुनजन्य विपद् प्रतिकार्य पूर्व अभ्यास सञ्चालन गरिसकेका छन् ।




प्रतिक्रिया