सशस्त्र प्रहरी बल साउनदेखि नयाँ संरचनामा


काठमाडौं – साउनदेखि आफ्नो संगठनलाइ सशस्त्र प्रहरी बलले संघीय संरचनामा लैजाने भएको छ।  यो संरचना अन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ।

हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले साउन १ देखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो।

सशस्त्र मुख्यालयको मातहत निकायलाई आवश्यक तयारीका लागि ५ असारमै परिपत्र गरेको थियो । डीआइजी सुरजकुमार श्रेष्ठले मातहत निकाय सबैलाई परिपत्र गरेका हुन्। सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापासहितको एक समितिले तयार पारेको सांगठनिक पुनःसंरचनासम्बन्धी प्रतिवेदन सरकारले जेठ २७ मा पास गरेको थियो ।

सो प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल नेपालको सांगठनिक पुनःसंरचना गरी नयाँ संरचना कायम गर्न विद्यमान दरबन्दीमा हेरफेर, केही कार्यालयको स्तर वृद्धि तथा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहने गरी एकाइ स्थापना जस्ता विषय समेटिएका छन् ।

संघीय संरचनाअन्तर्गत बाहिनी, तालिम शिक्षालय, गण, गुल्म र आश्रित गुल्महरूको नामावली तथा एकाइ रहने जिल्लाका साथै संगठन व्यवस्थापन तथा सर्वेक्षणअनुसारको इकाइ दरबन्दी विवरणसहितको विस्तृत कार्ययोजना तयार पारिएको थियो। सो परिपत्रअनुसार सशस्त्र प्रहरी बल नेपालको नयाँ सांगठनिक संरचना नेपाल सरकारबाट स्वीकृत भइसकेको र कार्यान्वयनको चरणमा रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement