काठमाण्डु – नेपालको आसन्न निर्वाचनलाई लक्षित गरी सीमा क्षेत्रमा संयुक्त गस्तीलाई सशक्त बनायन नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच सहमति भएको छ ।
भारतको उत्तराखण्डस्थित चम्पावतमा भएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका बाहिनी (डिआईजी तह)को समकक्षी समन्वायात्मक बैठकमा निर्वाचनको समयमा संयुक्त गस्ती बढाउने सहमति भएको हो ।
बैठकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागुऔषध ओसारपसार नियन्त्रण सम्बन्धी छलफल भएको शसस्त्र प्रहरी बलले जनाएको छ ।
त्यसैगरी निर्वाचन विरोधि तत्वहरूको अवैध घुसपैठ रोक्न तथा मौन अवधीभर हुने सीमा नाका बन्दका सन्दर्भमा समन्वयात्मक रूपमा प्रभावकारी नतिजा प्राप्त गर्ने गरि कार्य गर्ने छलफल भएको छ ।
सीमा क्षेत्रमा हुनसक्ने अवैध गैरकानुनी गतिविधिहरूको सूक्ष्म निगरानी गरि सूचना आदानप्रदान एवं त्यस्ता गतिविधिहरूलाई पूर्ण नियन्त्रण गर्ने विषयमा पनि सहमति भएको छ ।
बैठकमा निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउनको साथै सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको छ ।
साथै विपद व्यवस्थापनका सन्दर्भमा समन्वय गरी विभिन्न प्रकृतिका विपद सिमुलेशन अभ्यासहरू सञ्चालन गर्ने सम्बन्धी छलफल भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं.७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाका निमित्त वाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए ।
भारतीय सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआईजद्वय सुधान्सु नौटियाल र अनिल कुमार शर्मासहित सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखहरूको समेत बैठकमा उपस्थिति थियो ।




प्रतिक्रिया