फास्ट ट्रयाकमा सेनापतिको शर्त : ४ रुख काट्न ९ महिना लाग्छ, ईआईएको नियम फेर्नुपर्छ

फास्ट ट्रयाकमा सेनापतिको शर्त : ४ रुख काट्न ९ महिना लाग्छ, ईआईएको नियम फेर्नुपर्छ


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाकको काममा भइरहेको ढिलाइबारे जवाफ दिँदै ४ वटा रुख काट्न ९ महिना लाग्ने भएकाले ईआईएको नियम फेर्नुपर्ने शर्त राखेका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाक निर्माणबारे जवाफ दिँदै उनले ईआईएको नियम फेरेमा २०८३ सालसम्म काम पूरा हुन नसके पनि ट्रयाक खोलेर गाडी निजगढ पुर्‍याइने बताए ।

फास्ट ट्रयाकको विषयमा सेनामाथि प्रहार भइरहेको बताउँदै उनले नेपाली सेनाले कहिल्यै फास्ट ट्रयाक नमागेको बताए । उनले भने, ‘सेनाले मागेको होइन, तपाईंहरूले नै दिएको हो । ४ वटा रुख काट्न ९ महिना लाग्छ । हामीलाई नियम दिनोस् । मैले यसअघि प्रधानमन्त्री र रक्षामन्त्रीलाई देखाएको रुख अझै काट्न सकिएको छैन , कामअघि बढाउन परामर्शदाता ल्याउनुपर्छ । सकेसम्म विदेशमा पैसा नजाओस् भनेर नेपाली परामर्शदाता पनि प्रयोग गरेका छौं । २०८३ सालसम्म काम पूरा नसके पनि ट्रयाक खोलेर गाडी निजगढ पुर्‍याइन्छ तर ईआईएको नियम फेर्नुपर्छ ।’

उनले सेनाले गरेको काम पारदर्शी हुने बताए । उनले भने, ‘हामी गलत गर्दैनौं, सेना नियम–कानून र पारदर्शिता अनुसार काम गर्छ । गल्ती हुनु हुँदैन म पनि भन्छु ।’

खोकनामा अवरोध र स्थानीयको आक्रोशबारे बताउँदै उनले डीपीआर पास हुन मात्र ६ महिना लागेको बताए । ‘जमिन पाएको छैन, रुख काट्न पाइएको छैन । खोकनाको विषयमा डुकुछापमा रोक्ने कि के गर्ने भनेर सामाजिक र सांस्कृतिक पक्ष हेरेका छौं । १२ अर्ब सस्तोमा काम लगाइरहेका छौं,’ उनले भने ।