काठमाण्डु – नेपाली सेनाको रथीमा बढुवा भएसँगै ‘भावी सेनापति’को रूपमा हेरिएका अशोक सिग्देलको नागरिकतबारे प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा स्पष्ट जवाफ दिएका छन् ।
आज बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले रथी सिग्देलको २ वटा नागरिकता भए पनि कुनै त्रुटि नरहेको प्रस्ट पारे ।
‘रुपन्देहीबाट लिएको नागरिकता हराएपछि जाजरकोटबाट अर्को लिएको र दुवैमा उमेर १७ वर्ष उल्लेख रहेको देखिन्छ,’ बैठकमा उनले भने, ‘प्रतिलिपिमा पनि १७ वर्ष छ । त्यहाँ ढाटेको भए पो मैले समाउने ।’
नागरिकताबारे जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई सोधेको र एसएलसीको प्रमाणपत्र पनि परीक्षा नियन्त्रण कार्यालयबाट पुनः प्रमाणित गरेको सेनापति शर्माले बताए । ‘सेनामा बढुवाका बेला आफूले पेश गरेको कागजमा कुनै ढाँटेको भए कारबाही भोग्न तयार छु भनेर कागज गराउने गरिएको छ,’ उनले भने, ‘यति गर्दा पनि कहिलेकाहीँ गाल खाइने रहेछ ।’
सेनाविरुद्ध एकोहोरो प्रचारबाजी भएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । सेनामा अनावश्यक विवाद गर्नेलाई कारबाही गर्ने कानून बनाउन संसदीय समितिसामु माग गर्दै उनले भने, ‘जसले विवाद ल्यायो, नेपाली सेनालाई बर्बाद गर्न खोज्यो, उनीहरूलाई कारबाही गर्ने कानून ल्याउनुपर्यो ।’
उपरथीबाट राजीनामा दिएका ताराध्वज पाण्डेको जन्ममितिमा पनि कुनै त्रुटि नभएको उनले बताए । पाण्डेको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा २ पटक चिठ्ठी लेखेर सोधेको बताउँदै शर्माले भने, ‘जिल्ला प्रशासन कार्यालयले पूरै ठीक छ भनेर पठाएको छ ।’
अनावश्यक विवादमा पर्नुभन्दा बिदा लिएर बस्छु भनेर उपरथी पाण्डेले राजीनामा दिएको सेनापति शर्माले बताए ।




प्रतिक्रिया