नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने

नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८० विविध कार्यक्रम गरी मनाउने भएको छ ।

यसै सिलसिलामा पुस २१ गते गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा थालनी गर्ने योजना रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाण्डु पुगेर नगर परिक्रमापश्चात पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमबीच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपश्चात् समापन हुनेछ ।

सेनाद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी– हाल बर्दबहादुर तथा सबुज) को झण्डा तथा दिपज्योति सहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् ।’

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८० का अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश सम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।

देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा पनि विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने सेनाले जनाएको छ ।