पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा नेपाली सेनाले विभिन्न कार्यक्रम गर्दै

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा नेपाली सेनाले विभिन्न कार्यक्रम गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता श्री५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा पुष्पाहार अर्पण गरेका छन् ।

३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस जंगी अड्डा लगायत मुलुकभर एवं विदेशमा तैनाथ नेपाली सेनाका इकाईहरूमा विविध कार्यक्रमसहित मनाइँदैछ ।

दिवसका अवसरमा पुस २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन ५ वटा पल्टन (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी–हाल बर्दबहादुर तथा सबुज) को झण्डा र दिपज्योतिसहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर आजै बिहान श्री५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमापश्चात् जंगी अड्डामा आयोजित विशेष कार्यक्रमका साथ टुंगिएको छ ।

एकीकरण मार्ग पदयात्राको समापनसँगै जंगी अड्डामा आयोजित कार्यक्रमबीच प्रधान सेनापतिले २०७६ सालदेखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले आयोजना गर्दै आएको कविता प्रतियोगिताबाट छानिएका कविताहरूको सँगालो वीरताका गाथाहरू विमोचन गरे ।

कविता संग्रहमा सैनिक र गैरसैनिक सर्जकहरूका ८४ वटा कविताहरू संकलित छन् ।

समारोहमा इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरले पृथ्वीनारायण शाहको योगदान र दिव्योपदेशको सैनिक पक्षका बारेमा प्रवचन दिएका थिए । यस वर्षको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरूको वाचन एवं रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रछात्राबाट लघुनाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सुदिप थापा तथा रामप्रसाद कँडेलले नेपाली सेनासँगको सहकार्यमा निर्माण गरेको थ्रीडी एनिमेटेड पृथ्वीनारायण वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

बलाधिकृत रथी श्री अशोकराज सिग्देल, इतिहासविद्हरू, रथीवृन्द लगायत नेपाली सेनाका सकलदर्जा, सैनिक महाविद्यालयमा अध्ययनरत एवं राष्ट्रिय सेवादलमा तालिमरत छात्रछात्राहरूको उपस्थिति रहेको समारोहको अन्त्यमा विभिन्न प्रतियोगिताका विजयी एवं वृत्तचित्रका निर्माता र इतिहासविद्लाई बलाधिकृत र प्रधान सेनापतिले पुरस्कार एवं प्रमाणपत्र वितरण गरेका थिए ।