काठमाण्डु – कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको भ्रमण गरेका छन् ।
सानोभर्याङस्थित संस्थानमा खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरे ।
त्यस अवसरमा खड्कालाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक, उपरथी प्रा.डा. देवेन्द्रबहादुर खत्रीले संस्थान तथा मातहतका महाविद्यालयमा सञ्चालित शैक्षिक गतिविधिहरूबारे जानकारी गराएका थिए ।
सो अवसरमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीले संस्थान तथा मातहतका महाविद्यालयहरूको अवलोकन गरे । बहालवाला र अवकाशप्राप्त सैनिक व्यक्तिका जेहेन्दार सन्तती लगायत सर्वसाधारणका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले मिति २०६८ सालमा स्थापित संस्थानमा हाल नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालय, चिकित्सा शास्त्र महाविद्यालय र नर्सिङ महाविद्यालय अन्तर्गत कूल १७१० विद्यार्थीहरू अध्ययनरत छन् ।
भ्रमणका अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिव लगायत नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तथा अन्तर्गत महाविद्यालयहरूका प्राध्यापक, कर्मचारी र विद्यार्थीको उपस्थिति थियो । सोही अवसरमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीले संस्थान परिसरसँगै रहेको सैनिक पुनःस्थापना केन्द्रको पनि अवलोकन गरेका थिए ।
प्रतिक्रिया